काठमाडौं । हेटौँडाको नेवारपानीमा देउसी खेलिरहेको समूहमाथि बसले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । बसको ठक्करबाट अन्य आठजना घाइते भएका छन् ।
शनिबार राति हेटौंडाबाट चितवनको भरतपुरतर्फ जाँदै गरेको बागमती प्रदेश ३, ००१ ख ०९३६ नम्बरको बसले हेटौँडा उपमहानगरपालिका १५ नेवारपानीमा देउसी खेलिरहेका स्थानीयको समूहलाई ठक्कर दिएको हो ।
बसको ठक्करबाट हेटौंडा उपमहानगर १५ का सुजन विष्ट र चितवन घर भएका प्रेम सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।
बसको ठक्करबाट घाइते भएका ८ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि बस र त्यसका चालकलाई प्रहरीले पक्राउ गरेको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रिमालले जानकारी दिए ।