रौतहट । रौतहटमा गाडीमा हावा भर्ने ट्यांकी विष्फोट हुँदा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा अर्का एकजना घाइते भएका छन् ।
रौटहटका कटहरिया बजारमा अवस्थित गाडी ग्यारेजको हावा ट्यांकी विष्फोट हुँदा ग्यारेजधनी कटहरिया ५ का २० वर्षीय समसुल मियाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार फिस्फोट भएर उछिट्टिएको ट्यांकीको टुक्राले टाउनकोमा लाग्दा युवकको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका समसुललाई स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि वीरगन्ज लैजाने क्रममा शुक्रबार साँझ बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख वीरेन्द्र यादवले जानकारी दिए ।
दुर्घटनामा सोही ठाउँका २५ वर्षीय जैसी यादव घाइते भएका छन् । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक यादवले बताए ।