काठमाडौं । बहुचर्चित ललिता निवासको जग्गा आफ्नो नाममा कायम गर्ने प्रक्रियामा संलग्न रहेको अभियोगमा एक दम्पतीलाई नियन्त्रणमा लिएको छ ।
केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)को टोलीले रामकुमार सुवेदी र उनकी श्रीमतीलाई नियन्त्रणमा लिएको हो ।
मंगलबार साँझ स्वयम्भूबाट उनीहरुलाई नियन्त्रणमा लिएको व्यूरोका डीआईजी धिरजप्रताप सिंहले जानकारी दिए । श्रीमतीलाई घरबाट र श्रीमानलाई बागबजारबाट नियन्त्रणमा लिएका हौं, व्यूरोका डीआईजी सिंहले भने ।
ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २२ गते विशेष अदालतमा १ सय १० जना विरुद्ध मुद्दा दायर गरेको थियो । मुद्दा दायर हुँदा सुवेदी दम्पती फरार थिए ।
उनीहरुलाई अदालतमा उपस्थित गराएर थप अनुसन्धानका लागि म्याद थप गर्ने काम भइरहेको प्रहरीले जानकारी दिएको छ ।