बुधबार, भदौ १८ गते २०८२ Sep 03 2025 Wednesday
images
images

काँकडभिट्टा नाकाबाट ४७ अर्ब ६० करोड बराबरको वस्तु आयात, पेट्रोलियम पदार्थ अग्रस्थानमा


  • 1.8K
    SHARES
  • https://indrenipost.com/index.php/posts/9618
    साउन ९, २०८२ शुक्रबार
    काँकडभिट्टा नाकाबाट ४७ अर्ब ६० करोड बराबरको वस्तु आयात, पेट्रोलियम पदार्थ अग्रस्थानमा

    भद्रपुर झापा, ९ साउन – झापास्थित पूर्वी भन्सार नाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८१।८२ मा रु ४७ अर्ब ६० करोड ६ लाख ९३ हजार मूल्य बराबरको वस्तु तथा सामान आयात गरिएको छ । यो अघिल्लो वर्षको तुलनामा रु २ अर्ब ९३ करोड ८१ लाखले बढी हो ।
    मेची भन्सार कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार सबैभन्दा बढी आयात पेट्रोलियम पदार्थको भएको छ । उक्त अवधिमा रु १९ अर्ब ९४ करोड बराबरको पेट्रोलियम पदार्थ आयात गरिएको हो । त्यस्तै, जुट तथा जुटजन्य सामग्रीको आयात पनि उल्लेखनीय रहँदै रु ४ अर्ब ४५ करोड पुगेको छ । आयातसँगै निर्यातमा समेत सामान्य वृद्धि भएको छ । आयातमा ६.५८ प्रतिशतको वृद्धि भएको भए पनि निर्यातमा २.९६ प्रतिशतले मात्र वृद्धि भएको हो । गएको आर्थिक वर्षमा काँकडभिट्टा नाकाबाट रु २५ अर्ब १३ करोड ९७ लाख मूल्यका वस्तु निर्यात भएका छन्, जुन अघिल्लो वर्षको रु २४ अर्ब ४१ करोड ७० लाखको तुलनामा रु ७२ करोड २७ लाखले बढी हो ।
    पूर्वीनाकाबाट निर्यात हुने प्रमुख वस्तुहरूमा अलैँची, फलामे पाता, चिया, प्लाइउड, छुर्पी, अम्रिसो, भेनिउर सिट र मोलासिसजस्ता सामग्री समावेश छन् ।
    भन्सार कार्यालयका अनुसार आयात–निर्यात कारोबारमा निरन्तर वृद्धि देखिँदै आएको छ, जसले देशको व्यापारिक गतिविधिमा पूर्वी नाकाको महत्त्व झनै बढाएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij