सोमबार, असार १६ गते २०८२ Jun 30 2025 Monday
images
images

अन्तर्वार्ता

समृद्धिको जग दार्मा गाउँपालिका : अध्यक्ष केसी


  • 4.7K
    SHARES
  • https://indrenipost.com/index.php/posts/967
    असोज १५, २०७८ शुक्रबार
    समृद्धिको जग दार्मा गाउँपालिका : अध्यक्ष केसी

    प्रष्ट वक्ता, कुशल संगठक, र लोकप्रिय जनप्रतिनिधि दार्मा गाउँपालिका अध्यक्ष तथा नेकपा (माओवादी केन्द्र) सल्यानका सचिव निम बहादुर केसीसँग इन्द्रेणीपोष्टले गरेको संवाद । 

    १) अहिले पार्टी सुदृढीकरणको काम चलिरहेको छ, सल्यानको अवस्था कस्तो छ ?

    पार्टी संगठन सुदृढीकरणका लागि जिल्ला समन्वय समितिको बैठक बसेर सल्यानका १० वटै पालिकामा संगठित सदस्यता नविकरणको काम अन्तिम चरणमा पुगेको छ । पार्टी सदस्य नवीकरणको काम पनि तीव्रतामा छ । पार्टी सदस्य र संगठित सदस्यको आवेदन भर्ने कामसमेत भैरहेको छ । पालिका सम्मेलन आयोजक समितिहरूको बैठक बसेर सेल र टोल सम्मेलन, वडा सम्मेलन र पालिका सम्मेलनको तयारी भइरहेको छ ।

    टोल, वडा, पालिका र जिल्लास्तरका जनवर्गीय संगठन, पेसागत संगठन तथा मोर्चा संगठनका भेला, सम्मेलन पनि चलिरहेका छन् । पार्टी र जनसंगठनको शक्तिका हिसाबले सल्यान जिल्ला नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को पकड जिल्लाको रूपमा छ । यसलाई व्यवस्थित प्रणालीमा सुदृढ र संगठित गरेर परिचालन गर्ने योजनाकासाथ सल्यान अघि बढेको छ ।

    २) पार्टीलाई डिजिटल ढाँचामा लिनुपर्ने आवश्यकता किन पर्यो ?

    अहिले प्रविधिको युग हो । विचार र संगठनलाई विकसित प्रविधिसँग जोड्नु समयको माग हो । तथ्याङ्कलाई पारदर्शी, सुव्यवस्थित र आधुनिक प्रणालीमा जोड्न पार्टी संरचनालाई डिजिटल ढाँचामा लिनु अहिलेको युगीन आवश्यकता हो ।

    ३) सल्यानमा पार्टीभित्र किचलो छ भनिन्छ, कसरी समाधान गर्नुहुन्छ ?

    सल्यानको पार्टीभित्र किचलोभन्दा पनि स्वभाविक अन्तरसंघर्ष छ । यसलाई अरन्तरपार्टी संघर्षको विधिअनुसार हल गर्न सकिन्छ,गर्नुपर्छ । पार्टी र नेतृत्वलाई बुझ्ने र बदल्ने मामिलामा तथा नेता र कार्यकर्ताको कार्यविभाजन र व्यवस्थापनमा केही गुटगत संकीर्णता, व्यक्तिवादी अराजकता, क्षेत्रीयताका समस्याहरू छन् ।

    यसका लागि ठोस एजेन्डा तय गरेर बैठक,समीक्षासहित कार्ययोजना सुनिश्चित गरेर जानुपर्छ । त्यसका लागि सबै स्तरका नेतृत्व तहसँग छलफल चलिरहेको छ । अन्तरंग छलफल, अन्तरक्रिया बैठक त्यसका निष्कर्ष र निर्णय अनि एकताबद्ध दृढ कार्यान्वयन पुनः समीक्षा र अग्रगामी कार्ययोजना अन्तरपार्टी संघर्षको सही हल हो । यसतर्फ हामीले कदम बढाएका छौँ ।

    ४) तपाईं जनप्रतिनिधि पनि हुनुहुन्छ, जनताले नबिर्सिने के–के काम गर्नुभयो ? 

    जनप्रतिनिधि भएको ४ वर्षका क्रममा दार्मा उज्यालो अभियानकासाथ पालिकाव्यापी विद्युतिकरण, लिफ्ट प्रणालीबाट खानेपानीको व्यवस्थापन, १५ शैयाको अस्पताल लगायत व्यवस्थित स्वास्थ प्रणालीमा शुरुआत, पालिकालाई दूध पकेट क्षेत्रमा बिकास, सडक सञ्जालको स्तरिकरण, महत्वपूर्ण सिचाइ संरचना निर्माण, कोभिडविरुद्ध लडाइँमा जीत, शिक्षालाई श्रम र उत्पादनमा जोड्ने प्रयास, रोजगारीको सिर्जना, सहकारीमार्फत श्रम र उत्पादनलगायतका पहल र प्रयासहरू भएका छन् । समृद्ध दार्माको जग बसालिएको छ । उत्पीडित वर्ग, जात, लिंग र क्षेत्रलाई आत्मस्वाभिमान र गौरव गर्ने वातावरण बनेको छ । सहिदको वलिदानलाई स्थापित गरिएको छ ।

    ५) तपाईंले सोचेको तर गर्न बाँकी कामहरू के–के छन् ?

    रोजगारी, उत्पादन, शिक्षा र कृषि क्षेत्रमा अझै धेरै गर्न बाँकी छ । पूर्ण विद्युतिकरणको अभियान जारी छ । पालिका र वडासम्म पक्की सडक सञ्जाल अबको आवश्यकता हो । आधुनिक प्रविधिलाई सुव्यस्थित गर्नु अर्को चुनौती हो । आधार तयार भएको छ । यसमा टेकेर दार्मा समृद्धिको अभियानमा हामी अघि बढ्छौँ ।

    ६) नेपालमा संघीयता अभिसाप होकी बरदान ? 

    संघीयता अभिशाप होइन वरदान हो । यसले केन्द्रीकृत राज्य प्रणालीलाई जनताको घरआँगनमा ल्याएको छ । पिछडिएको र सीमान्तीकृत वर्ग र समुदायलाई नीति निर्माणको तहमा पुर्याएको छ । संविधान र संघीयताको मर्मअनुसार यसलाई दृढ कार्यान्वयन गर्न अझै जरुरी छ ।

    ७) नेपालको राजनीतिमा देखा परेका विकृतिहरू सुधार्न तपाईं जस्ता युवा नेतृत्वको भूमिका के हुन्छ ?

    विचार र कार्यदिशा केन्द्रित बहस र छलफल गरिनुपर्छ । क्रान्तिकारी नेतृत्वको रक्षा गर्दै क्रान्तिकारी उत्तराधिकारी निर्माण गर्नुपर्छ । गुटबन्दीलाई खारेज गर्नसक्ने शक्ति युवामा मात्रै छ । गुटबन्दी महारोग हो । पार्टी निर्माणमा जेष्ठ, प्रौढ र युवा अनि समानुपातिक र समावेशी नेतृत्व विकास गर्न हाम्रो दबाब र भूमिका बढाउनुपर्छ । नेतृत्व रक्षा र सम्मान हाम्रो दायित्व हो । समाजवादी क्रान्तिका लागि नयाँ विचार,कार्यदिशा र नेतृत्व निर्माण तथा त्यसको दृढ कार्यान्वयन युवाको काँधमा छ ।

    व्यक्ति होइन विचार, नेता होइन नीतिमा विश्वास गरौँ, मित्रतापूर्ण अन्तरसंघर्ष र निर्मम वर्गसंघर्ष पार्टी जीवनको अनिवार्य सर्त हो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij