(विमला केसी, प्रवक्ता कर्णाली सरकार तथा भूमि व्यवस्था, कृर्षि तथा सहकारी मन्त्री)
सिंगो जीवन वर्गीय मुक्ति आन्दोलन र महिला मुक्ति आन्दोलनमा लगाएकी विमला के.सी. २०६४ को संविधान सभा सदस्य पनि हुन् । प्रष्ट वक्ताका रुपमा परिचित केसी अहिले कर्णाली प्रदेश सरकारको प्रवक्ता तथा कृषी तथा भूमि व्यवस्था मन्त्री छन् । प्रदेश सरकार गठन भएको दुई वर्ष पुरा भैसकेको छ । दुई वर्षको अवधिमा कर्णाली प्रदेश सरकारले उल्लेख गर्न लायकका के के काम गर्यो ? यसबारे उनीसँग नयाँ समाजले गरेको कुराकानीका आधारमा कर्णाली सरकारले गरेको राम्रा १० कामको सूची जस्ताको तस्तै पेश गरेकाछौं ।
कुनै दिन कर्णाली संसारकै प्रमुख आकर्षणको गन्तव्य बन्ने छ । कर्णालीको पिछडिएको परिचय फेरिने छ र नयाँ परिचय बन्ने छ— समृद्ध कर्णाली प्रदेश, सुखी कर्णालीबासी । कर्णालीको अथाह जडिवुटी र स्याऊ । मनोरम प्राकृतिक दृष्यहरु । कठोर श्रम गर्ने मिलनसार जनता । मानव समाज विकासक्रममा आकर्षणको केन्द्र बन्ला त ? देशले कर्णालीबाट सिकौं भन्ने प्रेरणा लिन सक्ने गरी प्रदेश सरकारले काम गर्न सक्ला त ? भ्रष्टाचार, परम्परागत ढाँचाको काम गर्ने तरिका, कर्णालीलाई हेर्ने पुरानो चश्मा फेरिएला ? कहालीलाग्दो चुनौति अपार संभावनामा बदलिएला त ?
यस्ता यावत प्रश्नको जवाफ कर्णाली सरकार कामबाटै दिन चाहन्छ । अब कर्णालीका जनताले गफमा विस्वास गर्ने छैनन् । हामी कर्णाली प्रदेशको आम जनताका चाहना र सपनालाई पुरा गरेरै छाड्ने अठोटका साथ काम गरिरहेका छौं ।
यो अवधिसम्म आइपुग्दा काम धेरै नै भएका छन् । कर्णाली सरकारले गरेका थुप्रै काममध्ये केही महत्वपूर्ण कामहरुलाई १० बुँदामा यसरी उल्लेख गर्न सकिन्छ भन्ने लाग्छ ।
कर्णाली सरकारको १० राम्रा काम
१) कर्णाली प्रदेशको नामाकरणः कर्णाली प्रदेश सरकारले गरेका थुप्रै काम मध्य प्रदेशको नामरण एक हो । हामीले कर्णाली प्रदेशको नामकरण सर्वसम्मत ढंगले सबै प्रदेशहरु भन्दा अगाडि टुंगो लगाएका छौं ।
कर्णाली प्रदेश नै किनः कर्णाली आधुनीक नेपालको सभ्यताको उद्गमस्थल हो । नेपाली खस भाषाको उद्गमस्थल सिंजा उपत्यका पनि कर्णाली नदीकै सेरोफेरोमा विकास भएको थियो र छ । कर्णाली एकात्मक, केन्द्रीकृत सामन्ती राज्यव्यस्थाबाट उत्पीडनमा, अपहेलनामा परेको क्षेत्र पनि हो तसर्थ कर्णाली उत्पीडनको बिम्ब हो । कर्णालीले सबै न्यायपूर्ण आन्दोलनहरुमा बलिनदाको उच्चतम कोटा निरन्तर चुक्ता गर्दै आइरहेको छ र यो क्रम प्रदेश निर्माणको क्रमसम्म पनि जारी छ तसर्थ यो विद्रोहको प्रतिक पनि हो । कर्णाली नेपालकै सबैभन्दा लामो नदी पनि हो जो निरन्तर हिमालदेखि समुन्द्रसम्म अविराम गतिले बगिरहेकोछ । ऐतिहासिक सभ्यता, उत्पीडन, विद्रोह र अपार संभावनाको एकिकृत नाम नै कर्णाली हो ।
२) अर्गानिक प्रदेश: कर्णाली प्रदेश सरकार कर्णालीलाई अर्गानिक प्रदेश निर्माण गर्ने अभियानमा छ । त्यसका लागि आधार तयार पार्ने काम भैरहेको छ । अर्गानिक क्षेत्रको वर्गिकरण, कपुरकोट हर्रे नाकामा विषाधी परिक्षण प्रयोगशाला निर्माण र नमुना अगार्निक गाउँ बनाउने काम भैरहेको छ । सिंगो देशका नागरिकलाई अर्गानिक उत्पादन खुवाउने कर्णाली प्रदेशको लक्ष्य रहेको छ । त्यही अनुसार प्रदेश सरकार काम गरिरहेको छ ।
३) स्वास्थ्य क्षेत्रमा प्रभावकारिताः कर्णाली प्रदेशले ५० शैयाको अस्पताललाई ३०० शैयाको प्रदेश अस्पतालमा स्तरउन्नती गरेकाछौं जनतालाई गुणस्तरिय सेवा दिने छौं । जिल्ला अस्पताललाई प्रभावकारी बनाउने क्रम जारी छ । अर्गानिक प्रदेश निर्माणले रोग लाग्न नदिने वातावरण बनाउने छ भने अस्पतालले रोग लागेपछि उपचार गर्ने छ ।
४) बैंक खाता छोरीको, सुरक्षा जीवन भरीको: कर्णाली प्रदेशका सबै छोरीहरुको व्यक्तिगत र सामाजिक जीवनको स्तर उन्नतीका लागि बैंक खाता छोरीको, सुरक्षा जीवन भरीको भन्ने नाराका साथ कार्यक्रम लागु गरिएको छ । यस कार्यक्रम अन्तरगत कर्णाली प्रदेशभरीका सबै पालिकाहरुले २०७६ श्रावण १ गतेदेखि जन्मिएका छोरीहरुको एक हजारमा बैंक खाता खोलिन्छ । यस खातामा प्रति महिना ५०० सयका दरले पैसा जम्मा हुन्छ । त्यो पैसा जसको नाउमा जम्मा भएको उसले २० वर्ष पुगेपछि मात्र निकाल्न मिल्छ । तर २० वर्ष नपुग्दै विवाह गर्नेले भने त्यो पैसा पाउदैनन् ।
यस कार्यक्रमले बालविवाह न्यूनिकरण गर्न सहयोग पुर्याउने छ भने छोरी भएकै आधारमा गरिने लैगिंक विभेद हटाउने छ, छोरीको सामाजिक सुरक्षा हुनेछ भने, विचमै पढाई छोड्ने दरमा उल्लेख्य कमि आउनेछ । छोरीलाई हेर्ने दृष्टिकोण नै बदलिनेछ ।
५) विमा योजनाः सम्पूर्ण कर्णालीबासीको विपत सुरक्षा विमा लागु गरिएको छ । प्राकृतिक विपतबाट ज्यान गुमाउनेका परिवारलाई प्रतिव्यक्ति प्रति मृतक २ लाखका दरले र घर भत्किएको अवस्थमा प्रतिघर ५ लाख दिने व्यवस्था गरिएको छ ।
६) जमुना हिल्सा सडक प्रारम्भिक अध्ययनः यो सडक निर्माणलाई प्रदेशको रणनीतिक महत्वको सडकको रुपमा लिई त्यसको प्रारम्भिक अध्ययन चिनियाँ टोलिबाट भईसकेको छ । यातायात समृद्धिको बलियो आधार हो भन्ने कुरामा कर्णाली सरकार सचेत छ । त्यसै अनुरुप प्रदेश राजधानी विरेन्द्र नगर चक्रपथ निर्माणको काम अगाडि बढेको छ । कर्णाली प्रदेशको मुकाम विरेन्द्रनगरमा चक्रपथ निर्माण, कोहलपुर सुर्खेत सडक स्तर उन्नती गर्ने, प्रदेश र जिल्ला जोड्ने सडक स्तरउन्नती गर्ने र कालोपत्रे गर्ने काम गरिरहेका छौं ।
७) शिक्षामा सुधारलाई विशेष महत्व दिएकाछौं । विद्यालयको भौतिक पूर्वाधार निर्माण, डिजिटल स्कुल निर्माण, प्राविधिक शिक्षामा जोड रहेकोछ ।
८) कृषि क्षेत्रलाई प्राथमिकता: कृर्षिकृषि क्षेत्रको अनुदानको परम्परागत नीति खारेज गरी जनमुखि नीति बनाई लागु गरिएको छ । लक्षित वर्गका लागि (विपन्न) विशेष अनुदानका विशेष कार्यक्रम, निम्न मध्यम तथा मध्यम किसानका लागि व्यवसाय गर्न सरकारले सहुलिएत ऋणको व्यवस्था, ठूला किसकानको लागि व्याज अनुदानको व्यवस्था, व्यवसायी प्रतिस्पर्धा र प्रोत्साहनको लागि उत्पादनमा आधारित प्रोत्साहन अनुदान कार्यक्रम बनाइएको छ ।
९) समाजावादको मोडेल गाँउ अभ्यास गर्न एक जिल्ला एक सहकारी नमुना गाँउको कार्यक्रम अगाडि बढाइएको छ । लक्षित वर्ग विशेष किसान सरकार हातेमालो कार्यक्रम जिल्लाको सबैभन्दा गरिबी संख्या बढी भएको पालिकामा सञ्चालित छ । चालु आवमा दलित तथा अति विपन्न लक्षित कार्यक्रम ४० स्थानमा अगाडि बढेका छन् ।
१०) रोजगारीको सृजना: मुख्य मन्त्री रोजगार कार्यक्रम सञ्चालन गरेर रोजगारीको अवसर सृजना गर्ने भौतिक पूर्वाधारहरु निर्माण गर्ने काम भइरहेको छ । प्रदेशको विकास र समृद्धिका लागि पर्यटन गुरु योजना निर्माण गरिएको छ । हामी एक प्रदेश एक उद्योग निर्माण गर्ने योजनाका साथ काम गरिरहेका छौं । खासगरी कृषि, उद्योग र पर्यटन मार्फतरोजगारी सृजना गर्दैछौं
कर्णालीलाई पिछडिएको क्षेत्रको रुपमा मानिएको छ । कर्णालीको गरिबी र दुःखबारे थुप्रै कथा, कविता, साहित्य र समाचार लेखिएका छन् । तर कर्णाली आफैमा अनुपम सौन्दर्यले भरिपूर्ण छ । कणालीको पानीले करोडौं मानिसका प्यास मटाउन सक्छ । कर्णालीको जडिबुटीले अरबौं विरामी निको बनाउन सक्छ । कर्णाली प्रकृतिक विश्वविद्यालय हो, संसारका प्राणिशास्त्री र बनस्पतिशास्त्रीका लागि । यहाँ विश्वभरका तपस्विहरुका लागि ध्यान गर्ने केन्द्र निर्माण गर्न सकिन्छ । कर्णाली विश्वभरका पर्याकटका लागि हब बन्न सक्छ । तर कर्णालीलाई माथि भनिएजस्तो बनाउन प्रदेश सरकार र कर्णाली जनताको तागतले मात्र संभव छैन् । त्यसका लागि केन्द्र सरकाले पनि कर्णाली क्षेत्रको विकास र समृद्धिका लागि गौरवको आयोजनाहरु बनाउन त्यतिकै आवश्यक छ ।