काठमाडौं । नेकपा माओवादी केन्द्रले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुङ्ग्याएको छ । केन्द्रीय कार्यालय पेरिस डाँडामा बुधबार बसेको स्थायी कमिटी बैठकले देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वरजंग गहतराजलाई मन्त्री बनाउने निर्णय लिएको हो ।
माओवादीले बोधमाया यादवलाई राज्यमन्त्रीका रुपमा सरकारमा पठाउने निर्णय लिएको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिएका छन् । माओवादीको भागमा शिक्षा, खानेपानी र भूमिसुधार मन्त्रालय परेका छन् । राज्य मन्त्रीका लागि भने मन्त्रालय पक्का भइनसकेको बताइएको छ ।
पाँच दलीय गठबन्धनमा चार दलका लागि मंगलबारै मन्त्रीको भागबण्डा भइसकेको छ । यस्तोमा माओवादीले पाँच मन्त्रालय पाएको छ । असार २९ गते देउवाले प्रधानमन्त्रीको सपथ लिएकै दिन माओवादीबाट ऊर्जा मन्त्रालयमा पम्फा भुसाल र अर्थमन्त्रालयमा जनार्दन शर्माले नियुक्ति पाइसकेका छन् ।