काठमाडौँ, २१ फागुन – नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका महासचिव देव गुरुङले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग छिट्टै पार्टी एकता हुने बताएका छन् ।
आज सम्वाद डबलीले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा महासचिव गुरुङले छिट्टै वार्ता टोली गठन गरेर एकताको आधार तय गर्ने तयारी भइरहेको जानकारी दिए । देशमा व्यवस्थामाथि बढ्दो खतरा र समाजवादी क्रान्तिको आवश्यकता झन् तीव्र बनेको उल्लेख गर्दै उनले विचार मिल्ने शक्तिबीचको एकता अनिवार्य भएको बताए ।
गुरुङले नेकपा एससँग पनि एकताको सम्भावना रहेको जनाउँदै भने, “समाजवादी क्रान्तिका लागि न्यूनतमदेखि अधिकतम कार्यक्रम तय गर्दै सङ्गठन सुदृढ पार्नुपर्ने आवश्यकता छ । सदन र सडकमा कसरी सङ्घर्ष गर्ने भन्नेबारे पनि छलफल भइरहेको छ ।”
भिजिट भिसा प्रकरणमा गृह मन्त्रीको राजीनामा माग गर्दै सदन अवरुद्ध हुँदा विधेयक रोकिएपछि गरिएको दुई बुँदे सहमतिलाई पार्टीको स्थायी कमिटीले सही ठहर गरेको समेत गुरुङले बताए । कुलिङ पिरियडु प्रकरणबारेको छानबिन समितिको निष्कर्षका आधारमा सुधार गर्नुपर्छ भन्नेमा पार्टी प्रतिबद्ध रहेको उनले स्पष्ट पारे ।
कार्यक्रममा विप्लव नेतृत्वको नेकपाका स्थायी समिति सदस्य कर्णजित बुढाथोकी ‘सुशील’ ले माओवादी केन्द्रको एकताप्रति सकारात्मक निर्णयलाई स्वागतयोग्य भन्दै समाजवादी धारका सबै शक्तिबीच ध्रुवीकरण आवश्यक रहेको धारणा राखे । उनले आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा र समाजवादी परिवर्तनको लक्ष्य पूरा गर्न एकता अपरिहार्य भएको बताएका छन ।