सोमबार, असार ९ गते २०८२ Jun 23 2025 Monday
images
images

विश्व प्रतिष्ठित पुरस्कार

दुई पत्रकारलाई नोबेल शान्ति पुरस्कार


  • 955
    SHARES
  • https://indrenipost.com/posts/1093
    असोज २३, २०७८ शनिबार
    दुई पत्रकारलाई नोबेल शान्ति पुरस्कार

    सन् २०२१ को नोबेल शान्ति पुरस्कार पत्रकारद्वय मारिया रेसा र दिमित्री मुराटोभले पाउने भएका छन् । नर्वेस्थित नोबेल पुरस्कार कमिटीले शुक्रबार फिलिपिन्सकी पत्रकार रेसा र रुसी पत्रकार मुराटोभलाई उक्त पुरस्कार दिने निर्णय गरेको हो । 

    वाक स्वतन्त्रताका लागि पत्रकारिताका माध्यमबाट उनीहरूले गरेको लडाइँको सम्मान गर्दै उक्त पुरस्कार दिइएको कमिटीले जनाएको छ ।

    ‘स्वतन्त्र तथा तथ्यमा आधारित पत्रकारिताले शक्तिको दुरुपयोग, ढाँट र युद्धबारे गरिने संगठित प्रचारलाई रोक्न सहयोग गर्छ,’ कमिटीकी अध्यक्ष बेरिट रेस एन्डर्सनले पुरस्कार घोषणापछि भनेकी छन् । उनले वाक र प्रेस स्वतन्त्रताको अभावमा देशहरूबीचको भ्रातृत्व, निरस्त्रीकरण तथा राम्रो संसार निर्माण गर्न नसकिने बताएकी छन् ।

    सन् २०१२ मा सुरु गरिएको र्‍याप्लर नामक अनलाइन समाचार पोर्टलकी सहसंस्थापक पत्रकार रेसाले उक्त पोर्टलमार्फत राष्ट्रपति रोड्रिगो डुटर्टेको शासनकालमा भएका विवादास्पद, आपराधिक क्रियाकलाप तथा लागुपदार्थविरुद्धको अभियानअन्तर्गत भएका गतिविधिलाई समाचार बनाएर सार्वजनिक गरेकी थिइन् । 

    उनले सामाजिक सञ्जालको प्रयोगमार्फत गलत समाचारको कसरी प्रचारप्रसार गरिन्छ, प्रतिद्वन्द्वीलाई कसरी धम्क्याइन्छ र आमधारणालाई कसरी बंग्याइन्छ भन्ने विषयमा समाचार लेख्दै आएकी छन् । पुरस्कारका लागि छनोट भएपछि नर्बेको टेलिभिजन टिभी–२ लाई प्रतिक्रिया दिँदै उनले यो निर्णयबाट फिलिपिन्सको सरकार खुसी नहुने बताइन् । ‘म केहीमात्रामा अचम्मित भएकी छु र भावुक पनि । तर हामीले गरेको कामलाई सम्मान गरेकोमा नोबेल कमिटीप्रति म आभारी छु,’ उनले भनिन् ।

    रुसी पत्रकार मुराटोभ सन् १९९३ मा स्थापना गरिएको पत्रिका नोभाया गजेटाका एक संस्थापक हुन् । ‘रुसको सबैभन्दा स्वतन्त्र पत्रिका नोभाया गजेटा हो र यो पत्रिकाले शक्तिको गलत प्रयोगप्रति जहिले पनि आलोचनात्मक भूमिका निर्वाह गर्दै आएको छ,’ नोबेल कमिटीले भनेको छ । 

    ‘तथ्यमा आधारित पत्रकारिता र व्यावसायिक निष्ठाका कारण यो पत्रिका रुसी समाजका लागि समाचारको विश्वसनीय स्रोत बनेको छ । अन्य समाचार संस्थाभन्दा फरक हिसाबले यो पत्रिकाले रुसी समाजका लागि सेन्सरयोग्य मानिने समाचार सामग्री प्रकाशन गर्दै आएको छ,’ कमिटीले भनेको छ ।

    कमिटीले यो पत्रिकाको प्रकाशन सुरु भएपछि त्यहाँ कार्यरत ६ पत्रकार मारिएको र त्यसमध्ये चेचन्यामा भएको रक्तपातपूर्ण द्वन्द्वबारे समाचार सम्प्रेषण गर्ने पत्रकार अन्ना पोलिटकोभ्यास्काया रहेको जनाएको छ । 

    पुरस्कार घोषणापछि रुसी सरकारका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकार मुराटोभ प्रतिभावान् र बहादुर भएको बताएका छन् । ‘हामी मुराटोभलाई बधाई दिन सक्छौं। उनले लगातार मूल्य र निश्चित आदर्शमा आधारित काम गरेका छन् ,’ प्रवक्ता पेस्कोभले भनेका छन् ।

    नोबेल कमिटीकी अध्यक्ष एन्डर्सनले यसअघि सन् १९०७ मा इटालीका पत्रकार एर्नेस्टो टिओडोरो मोनेटासहितलाई शान्ति पुरस्कार प्रदान गरिएको बताएकी छन् । यसैगरी सन् १९३५ मा जर्मनीका पत्रकार कार्लभोन ओसिच्कीले उक्त पुरस्कार पाएका थिए । 

    अध्यक्ष एन्डर्सनले विश्वमा हाल ‘फेक’ समाचारले वाक स्वतन्त्रतामा जोखिम बढाएको उल्लेख गर्दै फिलिपिनी पत्रकार रेसाले सार्वजनिक बहसलाई बंग्याउन फेसबुकको भूमिका रहेकाले यसको आलोचना गर्दै आएको बताएकी छन् । ‘फेक समाचार मूलरुपमा वाक स्वतन्त्रताविरुद्धको गतिविधि हो । वाक स्वतन्त्रताका पनि आफ्नै सीमा छन्,’ एन्डर्सनले भनिन् ।

    यो पुरस्कारअन्तर्गत विजेताले गोल्ड मेडल र ११ लाख ४० हजार अमेरिकी डलर प्राप्त गर्छन् । स्विडेनका आविष्कारक अल्फ्रेड नोबेलको नाममा यो पुरस्कार सन् १८९५ मा स्थापना गरिएको हो ।

    यस वर्षका लागि साहित्य, रसायन शास्त्र र मेडिसिन विधाका नोबेल पुरस्कार विजेताको घोषणा यसअघि भइसकेको छ । अर्थशास्त्र विषयको पुरस्कार घोषणा हुन भने बाँकी छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij