काठमाडौं । सेरम इन्स्टिच्युट अफ इन्डियासँग सरकारले खरिद गरेको १० लाख डोज कोभिसिल्ड खोप आज आउने भएको छ । नेपालर सरकारले साढे सात महिनाअघि खोप खरिद गरेको थियो ।
खोप शनिबार दिउँसो साढे २ बजे काठमाडौँ आइपुग्ने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महासाखा अन्तर्गत खोप शाखा प्रमुख डा. सागर दालालले बताए । नेपालले गत ५ फागुनमा सेरसमसँग प्रतिडोज चार अमेरिकी डलरका दरले २० लाख डोज खरिद गर्ने सम्झौँता गरेको थियो ।
सम्झौँताअनुसार १० लाख डोज त्यसबेला नै आएको थियो । १० लाख डोज आउन बाँकी थियो । समयमै खोप नआउँदा पहिलो डोज लगाएका ज्येष्ठ नागरिकसहित करिब १३ लाख व्यक्तिले समयमै दोस्रो डोज लगाउनबाट बन्चित भएका थिए ।
यसअघि भारत सरकारले सेरमबाट उत्पादित १० लाख डोज कोभिसिल्ड खोप उपलब्ध गराएको थियो । त्यसलगत्तै भारतीय सेनाले नेपाली सेनालाई उपहार स्वरुप एक लाख डोज कोभिसिल्ड पठाएको थियो ।
त्यसपछि कोभ्याक्स सुविधामार्फत आएको ३ लाख ४८ हजार र खरिद गरेको २० लाखमध्ये १० लाख गरी कुल २४ लाख ४८ हजार डोज कोभिसिल्ड खोप नेपाल आइसकेको छ ।