सोमबार, असार ९ गते २०८२ Jun 23 2025 Monday
images
images

१४ औँ महाधिवेशन सरगर्मी

काँग्रेस महाधिवेशन : देउवा पक्षको बहुमत प्रतिनिधि


  • 865
    SHARES
  • https://indrenipost.com/posts/1228
    असोज ३१, २०७८ आइतबार
    काँग्रेस महाधिवेशन : देउवा पक्षको बहुमत प्रतिनिधि

    काठमाडौं । नेपाली काँग्रेसको आसन्न १४ औँ राष्ट्रिय महाधिवेन सरगर्मी बढेको छ । यतिबेला जिल्ला र स्थानीय तहहरूमा धमाधम अधिवेशन सम्पन्न भैरहेका छन् । देशका ७७ जिल्लामध्ये १३ जिल्लामा अधिवेशन सम्पन्न हुँदा सभापति शेरबहादुर देउवा पक्षले आफ्नो पक्षसँग बहुमत भएको दाबी गरेको छ ।

    हालसम्म अधिवेशन सम्पन्न भएका १३ जिल्लामा जिल्ला सभापति, महानगर, नगर र गाउँपालिकाको नेतृत्व आफ्नो पक्षमा नआए पनि बहुमत प्रतिनिधि आफ्नै पक्षमा भएको देउवा पक्षले जनाएको छ । कालीकोट, मुगु, हुम्ला, रुकुमपूर्व, बाजुरा, बझाङ, मुस्ताङ, मनाङ, दोलखा, गोरखा, ताप्लेजुङ, संखुवासभा र रामेछाप जिल्लाको अधिवेशन सकिएको छ ।

    यद्यपि यसअघि निर्धारण गरिएको कार्यतालिकाअनुसार दशैँ अगाबै २१ हिमाली जिल्लामा अधिवेशन सक्ने भनिए पनि कार्यान्वयन भने हुन सकेको छैन । २१ हिमाली जिल्लामध्ये आजसम्म अधिवेशन हुन नसकेका ८ जिल्ला धादिङ, सिन्धुपाल्चोक, रसुवा, सोलुखुम्बु, डोल्पा, जुम्ला, दार्चुला र म्याग्दी छन् ।

    सिन्धुपाल्चोकको क्रियाशील सदस्यता विवाद नसुल्झिएपछि त्यहाँका तीनवटा वडाको अधिवेशन नै रोकिएको छ । त्यस्तै रसुवामा पनि क्रियाशील सदस्यता विवाद बढेपछि अधिवेशनको कुनै सुरसार नै नभएको रसुवाको काँग्रेसले जनाएको छ । उसले क्रियाशील सदस्यता विवाद नटुंगिएसम्म अधिवेशन अगाडि नबढाउने अडान राख्दै आएको छ ।

    काँग्रेस महाधिवेशन निर्वाचन समितिले दिएको जानकारीअनुसार हालसम्म ३ सय ६२ जना महाधिवेशन प्रतिनिधि छनोट भएका छन् । जसअनुसार महाधिवेशन प्रतिनिधि आफ्नो पक्षमा २ सयभन्दा बढी रहेको देउवा पक्षले दाबी गरेको छ । यद्यपि वरिष्ठ नेता रामचन्द्र पौडेल निकटका १ सय २१ प्रतिनिधि छनोट भएको बताइएको छ ।

    हालसम्म छानिएका प्रतिनिधिमध्ये २५ जना भने तटस्थ छन् । उनीहरू कुनै पक्षमा खुलेका छैनन् । सिटौला पक्षका करिब २४ भन्दाबढी प्रतिनिधि छनोट भएका छन् । काँग्रेस केन्द्रीय सदस्य तथा सभापति देउवा निकट एक नेतालेका अनुसार, ‘महाधिवेशन सकिएको १३ जिल्लामा आफ्नो पक्षको बहुमत छ । तर, पौडेल र सिटौला पक्षको तुलनामा हामी कम छैनौँ, बाँकी अधिवेशन सम्पन्न हुने जिल्लामा पनि आफ्नो पक्षको बहुमत निश्चित छ ।’

    त्यस्तै वरिष्ठ नेता पौडेल पक्षले आफ्नो भनेर दाबी गरेका दुई जिल्लाका सभापतिद्वय आफ्नै पक्षमा रहेको देउवा पक्षले दाबी गरेको छ । उसले रुकुमपूर्वका केशरमान रोका र गोरखाका नन्दप्रसाद न्यौपाने संस्थापन इतरकै सभापति भएको दाबी गरेको छ । उनीहरूले आफ्नो सहयोग र समर्थनमा सभापति पदमा विजय हाँसिल गरेको देउवानिकट एक नेताले बताए ।

    तर, १३ जिल्लामा अधिवेशन सम्पन्न हुँदा जिल्ला सभापतिमा पौडेल पक्ष हाबी भएको छ । कालीकोटका अम्मरबहादुर शाही, रुकुम पूर्वका केशरमान रोका, बाजुराका रामसिंह रावल, संखुवासभाका दीपक खड्का, दोलखाका बर्मा लामा र मुस्ताङका रोमी गौचन पौडेल पक्षबाट चुनिएका छन् ।

    गोरखामा निर्वाचित सभापति नन्दप्रसाद न्यौपाने भने नेता गगन थापा निकट मानिन्छन् । त्यसैगरी सभापति देउवा निकटबाट भने हुम्लाका मोहनविक्रम सिंह, मुगुमा ऐनबहादुर शाही, मनाङका शंकर गुरुङ, ताप्लेजुङका गजेन्द्रप्रसाद तुम्याहाङ, रामेछापका पूर्णबहादुर तामाङ र बझाङमा खडक बोहरा सभापतिमा निर्वाचित भएका छन् ।

    महाधिवेशन निर्वाचन समितिका अनुसार हालसम्म ५ सय ५० स्थानीय तहमा नेतृत्व चयन भैसकेको छ । क्रियाशील सदस्यता विवादले २ सय ३ स्थानीय तहको अधिवेशन रोकिएको छ । बारा, रौतहट र रसुवाको क्रियाशील सदस्यता सार्वजनिक पनि गरिएको छैन । हालसम्म बाँके सुर्खेत, डोल्पा, कैलाली र रसुवाको वडा अधिवेशन हुन सकेको छैन । ती जिल्लाको वडा अधिवेशन दशैँपछि हुने छ ।

    महानगरपालिकाको नेतृत्वमा देउवा पक्षले एउटा नगरमा मात्रै जीत हात पारेको छ । ६ वटा महानगरपालिकामध्ये ललितपुरमा देउवा पक्षका शुभानरन्त धाख्वाले सभापतिमा जीत हाँसिल गरेका छन् । महानगर सभापतिमा विजयी अन्यमा देउवा निकट नेताहरू विजयी भएका छन् । काठमाडौं महानगरमा विजयी नीलकाजी शाक्य नेता प्रकाशमान निकट मानिन्छन् । विराटनगरमा विजयी दीपक चापागाईं नेता डा.शेखर कोइराला निकट हुन् । पोखरामा सुरेन्द्रमान बिजुक्छे र भरतपुरमा विजयी चित्रसेन अधिकारी वरिष्ठ नेता रामचन्द्र पौडेल निकट छन् ।

    आसन्न १४ औँ राष्ट्रिय महाधिवेशनका लागि जिल्ला र स्थानीय तहको परिणामलाई लिएर प्रधानमन्त्रीसमेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवा हौँसिनुपर्ने अवस्था नरहेको विश्लेषक श्याम श्रेष्ठ बताउँछन् । श्रेष्ठका अनुसार, अधिवेशन हुन संघ, प्रदेश बाँकी नै छन् । त्यहाँको परिणाम प्राप्त नभएसम्म देउवाको पक्षमा बहुमत छ भन्न सकिँदैन । यसर्थ देउवाले आजै बहुमत छ भन्नु स्वभाविक होइन ।’

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij