काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीलाई पूर्णता दिएर अन्तर पार्टी निर्देशन (अपानि) जारी भएसँगै असन्तुष्टी बढेको छ । केन्द्रीय कमिटीमा केही नेताले आफ्ना मान्छे टिपेर ल्याएको र मापदण्ड तथा विधि पद्धतिलाई नै बेवास्ता गरिएको भन्दै असन्तुष्टि बढ्न थालेको हो ।
हिजो तत्कालीन नेकपा र एमालेमा केपी ओलीले विधि पद्धति र मापदण्ड नमानेको भनेर विद्रोह गरेका नेताहरूले नै एकीकृत समाजवादीमा व्यक्तिवादी प्रवृति देखाएको अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले बताए ।
अन्य सबै जनवर्गीय संगठनका अध्यक्षहरु पार्टीको केन्द्रीय सदस्य मनोनित भएका छन् । तर, अनेरास्ववियूका अध्यक्षलाई भने केन्द्रीय सदस्य नबनाई उनीभन्दा जुनियर र नेताका पियहरूलाई पार्टीको केन्द्रीय कमिटीमा मनोनित गरिएको भन्दै विरोध भएको छ ।
पराजुलीले भने आफू केन्द्रीय कमिटीमा नपरेकोमा कुनै गुनासो नरहेको तर केही नेताले माधव नेपाललाई समेत गुमराहमा राखेर केन्द्रीय सदस्यहरूको छनौट गरेको बताएका छन् । केन्द्रीय कमिटी सदस्यको चयनप्रति पार्टीका पदाधिकारीहरुले समेत असन्तुष्टी व्यक्त गरेका छन् ।
३ सय ३५ सदस्यीय केन्द्रीय कमिटी गठन गर्दा विधि, पद्धति र मापदण्ड नबनाइएकोमा असन्तुष्टी बढेको नेताहरूले बताएका छन् । एकीकृत समाजवादीले संगठन विस्तारका लागि ३ महिने अभियान घोषणा गरेको छ । यस क्रममा एक वडा एक सय संगठित सदयस्य र एक हजार पार्टी सदस्य बनाउने अभियान सञ्चालन गर्ने भएको छ ।
यस्तो छ नेकपा एकीकृत समाजवादीको अन्तरपार्टी निर्देशन