काठमाडौं । नेपाली सेनामा अब सिपाही बढुवाबाटै अधिकृतसम्म हुन पाउने भएका छन् ।
यसअघि बढुवाबाट सिपाही प्रमुख सुवेदारसम्म मात्र हुन पाउने गरेकामा सैनिक नियमावली संशोधन गरी राजपत्र अनंकित पदमा भर्ना भएका सैनिकलाई अधिकृत तहसम्म पुग्न सक्ने व्यवस्था गरिएको हो ।
गत भदौ १४ गते राजपत्रमा प्रकाशित सैनिक सेवा नियमावलीको चौथो संशोधन कार्यान्वयन सुरु गरिएको हो ।
नेपाली सेनाका अनुसार यसअघि सहायक सेनानीमा रिक्त स्थानमा खुला प्रतियोगितामार्फत ७० प्रतिशत र बाँकी ३० प्रतिशत आन्तरिक प्रतियोगितामार्फत पदपूर्ति गर्ने गरिएको थियो ।
संशोधित नियमावलीअनुसार अब सहायक सेनानीको रिक्त स्थानमध्ये १० प्रतिशत बढुवाबाटै पदपूर्ति गरिने भएको हो भने आन्तरिक प्रतियोगितामार्फत २० प्रतिशत पूर्ति गरिनेछ ।
यस्तै बाँकी ७० प्रतिशत खुला प्रतियोगिताबाट पदपूर्ति हुनेछ । संशोधित नियमावलीअनुसार सहायक सेनानीमा बढुवाका लागि कम्तीमा २२ वर्ष सेवा अवधि पुगेका प्रमुख सुवेदार र सुवेदार योग्य मानिनेछन् ।
सहायक सेनानीमा बढुवा हुन अन्तिम ३ वर्षको कार्यसम्पादन मूल्यांकन नम्बर न्यूनतम ६५ प्रतिशत हुनुपर्ने प्रावधान अहिलेको नियमावलीमा छ ।