काठमडौं । नेपाल प्रहरी अस्पतालमा अनियमितता गरेको भन्दै अस्पताल प्रमुख एआईजी डा.आशा सिंहमाथि छानबिन सुरु भएको छ ।
गृह मन्त्रालयको निर्देशनपछि प्रहरी प्रधान कार्यालयले मानव श्रोत एवं प्रशासन विभाग प्रमुख एआईजी विश्वराज पोख्रेलको नेतृत्वमा छानबिन समिति गठन गरेको हो ।
अस्पतालमा निःशुल्क आएका स्वास्थ्य सामग्री र औषधिको पनि बिल बनाएर सिंहले रकम असुलेको गुनासो आएको गृह मन्त्रालयले जनाएको छ ।
पोख्रेल नेतृत्वको ५ सदस्यीय छानबिन समितिलाई आर्थिक अनियमिततामा संलग्नमाथि छानबिन गर्न निर्देशन दिइएको छ ।
समितिमा प्रहरी प्रधान कार्यालयकै डीआईजी वसन्तकुमार लामा, एसएसपी भीम ढकाल, पुजा सिंह र डीएसपी ज्ञानेन्द्र बस्नेत पनि छन् । सिंह २०७६ माघमा एआईजीमा बढुवा भएकी थिइन् ।
एआईजी भएसँगै उनले अस्पतालको कार्यकारी निर्देशकको जिम्मेवारी समेत पाएकी थिइन् ।
सिंहले कोभिडका बिरामीको उपचारका लागि विभिन्न दाताले दिएको स्वास्थ्य सामग्री र औषधिको पनि बील बनाएर पेश गरेर रकम लिएको गुनासो आएको छ ।