काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले १० बुँदे सहमति कार्यान्वयन हुने आशमा एमालेमा बसेकाहरुको बिजोग भएको बताएका छन् ।
सिन्धुपाल्चोक(काठमाडौं सम्पर्क मञ्चले शनिबार चाबहिलमा गरेको कार्यक्रमलाई सम्बोधनका क्रममा अध्यक्ष नेपालले एमालेमा बस्नेहरु केपी शर्मा ओलीको आदेशपालक हुनुपर्ने पनि बताएका छन् ।
‘एमालेमा ओलीको आदेश पालना गर्ने मात्रै टिक्न सक्छन् । उनीहरुले मात्रै स्याबासी र पद पाउँछन्, नेपालले भने, ओलीको आदेश नमान्दा कति ट्याउँ(ट्याउँ गरेको भनिन्छ । १० बुँदेमा पनि अहिले कति ट्याउँ-ट्याउँ गरेको भन्दैछन् ।
१० बुँदे कार्यान्वयन हुने आशमा एमालेमा बसेका साथीहरुको कस्तो हरिबिजोग, देख्नु हुँदैछ नि ’
अध्यक्ष नेपालले ओलीले एमालेमा कुनै नेतालाई सम्मान नै नगरेको आरोप पनि लगाए । ओलीले नेताहरुको सम्मान गर्दैनन् । कुनै छलफल पनि गर्दैनन् । त्यहीकारण हामीले विद्रोह गर्यौँ, उनले भने, ओलीसामू त्यहाँ कसैको मान मर्यादा हुँदैन । सम्मान पनि गरिँदैन । ओलीको त्यही व्यवहारका कारण हामी विद्रोह गरेर नयाँ यात्रामा छौँ ।
उनले एमालेको संस्थापक आफैं भएको बताउँदै ओली त्यसबेला कुनै आन्दोलनमा नदेखिएको पनि बताए । २०३१ सालमा कोअर्डिनेशन केन्द्रको दस्तावेज जारी गर्ने बेलामा केपी ओलीहरू कहाँ थिए ? ०३२ सालको जेठ महिनामा कोअर्डिनेशन केन्द्रको केन्द्रीय कमिटी र पोलिटब्युरो घोषणा गर्दा कहाँ थिए ? उनले सोधे, त्यसबेला मुकुन्द न्यौपाने र झलनाथ खनाल हामीसँगै हुनुहुन्थ्यो । म यहीँ छु ।
उनले मदन भण्डारीको जनताको बहुदलीय जनवादको सिर्जना एमालेले गरेको पनि बताए । मदन भण्डारीको जबजको सिर्जना हामीले गरेका थियौँ, एमालेले गरेको थियो, उनले भने, केपी ओली एण्ड कम्पनीले गरेको होइन ।