काठमाडौं । नेपाल बार एशोसियसनका पदाधिकारीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग तीन घण्टा लामो छलफल गरेका छन् ।
बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहितको टोलीले आइतबार बिहान ११ बजेदेखि तीन घण्टासम्म छलफल गरेर सर्वोच्चबाट बाहिरिएको हो ।
छलफलमा दुई पक्षबीच भएका कुराबारे विस्तृत विवरण आइसकेको छैन । तर उनीहरुले न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले बुझाएको प्रतिवेदन कार्यान्वयनका लागि १५ दिने अल्टिमेटम दिएको बताइएको छ ।
यो कुरा भेट्न जानुअघि अध्यक्ष श्रेष्ठले जानकारी दिएका थिए । बारले पेसी तोक्ने प्रणाली स्वचालित बनाउन पनि माग गर्ने योजना बनाएको थियो ।
समितिले न्यायालयभित्रका विकृति औंल्याउँदै यसको अन्त्यका लागि गर्नुपर्ने सुधारसहितको सुझाव दिएको थियो । त्यही प्रतिवेदन कार्यान्वयनका सन्दर्भमा नेपाल बारले प्रधानन्यायाधीशलाई दबाब दिएको हो ।
यही विषयमा सर्वोच्च बार एसोसिएसनको बैठक पनि आइतवारै बस्दै छ । अहिले बसिरहेको बैठकमा प्रधानन्यायाधीशविरुद्ध कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुने एक पदाधिकारीले जानकारी दिए ।
बारका अध्यक्ष पूर्णमान शाक्यले छलफलपछि न्यायालयका पछिल्ला विकृतिविरुद्धका कार्यक्रम तय हुने बताए ।