जनकपुर । जनकपुरधाम उपमहानगरमा पर्ने देवपुरा रुपैठामा सम्प्रदायिक सद्भाव खल्बलिने गतिविधि बढेको भन्दै जिल्ला प्रशासन कार्यालय धनुषाले शनिबार निषेधाज्ञा जारी गरेको छ । छठ पर्वकै दिनदेखि देवपुरा रुपैठामा हिन्दु र मुस्लिम समुदायबीच तनाव बढेको छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद बास्तोलाले, ‘समाजिक सद्भाव खलल पुग्ने गरी नारा जुलुस र हुलहुज्जत गरिरहेकाले निषेधाज्ञा लगाइएको,’ बताएका छन् ।
जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुर–२० देवपुरा रुपैठाको चार किल्ला पूर्वमा जलाद नदीको कलरी बाँध, पश्चिममा जनकपुर–जटही मार्ग, उत्तरमा हनुमाननगर, रामपुर र बहुअर्वा जाने बाटो तथा दक्षिणमा देवपुरा निम चोकदेखि बहुअर्वा जाने बाटोसम्म निषेधाज्ञा लागू गरेको छ ।
शनिबार अपरान्हदेखि लगाइएको निषेधाज्ञा आइतबार राति १० बजेसम्म लागू रहने प्रजिअ बास्तोलाले जानकारी दिए । निषेधाज्ञा उल्लंघन गर्ने जोकोहीलाई प्रहरीले काबाही गर्ने चेतावनी दिइएको छ ।