काठमाडौं । आजदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्सा शिक्षाको स्नातक तह (एमबिबीएस) अध्यापन सुरु भएकाे छ । कर्णालीमा पहिलोपटक एमबिबीएसको पढाइ सुरु भएकाे हाे ।
प्रतिष्ठानका एमबिबीएस कोडिनेटर डा सुनिल बुढाथाेकीले आजदेखि पढाइ सुरु भएकाे जानकारी दिए ।
प्रतिष्ठानले चिकित्सा शिक्षा आयोगले लिएको एकीकृत परीक्षामा उत्त्तीर्ण भएका विद्यार्थीमध्ये १५ पूर्ण छात्रवृत्ति र पाँच शुल्क तिरेर अध्ययन गरिरहेकाे जनाएकाे छ । कर्णालीले एमबिबीएसका कार्यक्रमका लागि २० सीट पाएकाे थियाे ।
प्रतिष्ठानले ३०० शय्याको अस्पतालसमेत सञ्चालनमा ल्याइसकेको छ ।अस्पतालमा १० शय्याको सघन उपचारकक्ष (आइसीयू) र चार शय्याको शल्यक्रिया कक्ष रहेको छ ।
चिकित्सा शिक्षा अध्यापनका लागि प्रतिष्ठानमा ८२ विषयगत चिकित्सक छन् । प्रतिष्ठानमा यस वर्षदेखि स्नातक तहमा फार्मेसी (बी फार्मेसी), सोही तहमा नर्सिङ पनि अध्यापन पनि सुरु भएकाे छ । ती दुवै विषयमा २०/२० विद्यार्थी अध्ययन गर्नेछन् ।
एक वर्षदेखि प्रतिष्ठानमा एमडी पाँच अध्यापन गरिरहेका छन् । यस्तै व्याचलर पब्लिक हेल्थ (बिपीएच), स्नातक तहमा सुत्केरीसम्बन्धी कक्षा पनि तीन वर्षदेखि सुरु भइरहेको छ ।
ती विषयमा २०/२० विद्यार्थी अध्ययन गरिहेको जनाइएको छ । सरकारले कर्णालीका दुर्गम क्षेत्रमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले विसं २०६८ मा प्रतिष्ठानको स्थापना गरेको हो ।