काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले प्रभावकारी रूपमा कार्यसम्पादन गर्न प्रमुख जिल्ल्ला अधिकारीहरूलाई निर्देशन दिएका छन् ।
जिल्लाको शान्ति सुरक्षाको अवस्थाबारे आज आयोजना गरिएको भर्चुअल बैठकमा मन्त्री खाणले अब मेरो सरूवा हुने बेला आयो भन्दै दिन गनेर नबसी आफ्नो दायित्व पूरा गर्नेतर्फ लाग्न निर्देशन दिएका हुन् ।
उनले जिम्मेवारी राम्रोसँग निभाएका प्रजिअलाई मन्त्रालयले तोकिएभन्दा समय प्रजिअ बनाएर राख्न सक्नेतर्फ ध्यानाकर्षण गराउँदै उनले जुन दिनसम्म जिल्लामा रहिन्छ त्यसदिनसम्म प्रभावकारी काम गर्न सुझाव दिए ।
सरकारको प्रतिनिधि भएकाले जिल्लामा सुरक्षा निकायलाई परिचालन गर्ने जिम्मेवारी प्रजिअको रहेकाले सुरक्षा समिति र कतिपय अवस्थामा सर्वदलीय राजनीतिक बैठक बसालेर भए पनि प्रभावकारी काम गर्नुपर्ने जिम्मेवारी प्रजिअको रहेको उनले बताए ।
कोभिड(१९ को महामारीका बेलामा आफैं संक्रमित भएर पनि शान्ति सुरक्षा सबल बनाउनमा भूमिका खेलेकाप्रति धन्यवाद दिँदै मन्त्री खाणले आगामी दिनमा त्योभन्दा राम्रो काम हुने विश्वास व्यक्त गरे ।
कतिपय प्रशासन कार्यालयमा सेवा प्रवाह सुस्त भएको गुनासो आएको सन्दर्भ जोड्दै मन्त्री खाणले जनतालाई समयमै सहज रूपमा सेवा प्रवाह गर्ने वातावरण निर्माण गर्न पनि निर्देशन दिए ।
जनशक्ति कम भएका कार्यालयमा जनशक्ति वृद्धि गर्ने विषयमा मन्त्रालय सकारात्मक रहेको उनको भनाइ थियो । रासस