काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्रको सुधारका लागि ५५ बुँदे योजना बनाएर कार्यान्वयनमा ल्याएको बताएका छन् ।
विद्यालयको भौतिक संरचना सुधारदेखि शिक्षक, कर्मचारीको दरबन्दी मिलान र नयाँ शिक्षक थप गर्ने योजना समेत मन्त्रालयले कार्यान्वयनमा ल्याएको उनले बताए ।
प्रेस सेन्टर, बागलुङले आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पौडेलले १८ हजार शिक्षक दरबन्दी खुलाउने बताए । आन्तरिक बढुवा खुलाउने, नयाँ दरबन्दी खोल्ने र विद्यालय गाभ्ने अभियान थाल्ने उनले बताए ।
देशभरका विद्यालय र शिक्षकको अनुपात अध्ययन गरी दरबन्दी थप्ने तयारीमा सरकार पुगेको उनले उल्लेख गरे । शिक्षा क्षेत्रको सुधारका लागि तीन नयाँ ऐन मन्त्रालयले तयार गरिसकेको उनको भनाइ थियो ।
सङ्घीय शिक्षा ऐन, विश्वविद्यालय ऐन र प्राविधिक शिक्षा व्यवस्थापन गर्ने नयाँ ऐन बनिसकेको र संसद्मा लैजाने तयारी भएकाले कानुनी समस्या पनि छिट्टै अन्त्य हुने मन्त्री पौडेलको धारणा छ ।