रुसमा राष्ट्रपति पदका लागि निर्वाचनको मिति घोषणा भएको छ ।
अर्को राष्ट्रपति चुनावको मिति मार्च १७, सन् २०२४ को लागि तोकिएको छ ।
संसद्को माथिल्लो सदनले बिहीबार सर्वसम्मतिले निर्वाचनको मिति तय गरेको हो ।
हाल रुसका वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिन (७१) ले चुनाव लड्ने घोषणा भने गरिसकेका छैनन् ।
पुटिनले पाँचौं पटक चुनाव लड्ने र देशको जिम्मेवारी सम्हाल्ने विश्वास गरिएको छ ।
चुनावअघि पुटिनको जित निश्चित मानिन्छ किनभने उनलाई चुनौती दिने उनका सम्भावित प्रतिद्वन्द्वी कोही जेलमा छन् भने कोही विदेशमा छन् ।
एकै समयमा अधिकांश स्वतन्त्र मिडिया प्रतिबन्धित छन् । यस्तो अवस्थामा मार्चमा हुने निर्वाचनका कारण पुटिन कम्तिमा २०३० सम्म सत्तामा रहने प्रबल सम्भावना छ ।
यसैबीच रुस र युक्रेनबीच युद्ध जारी छ । रसिया युद्धमा फसेको छ तर उसले आफ्नो नयाँ भू-भाग भनी बोलाएको क्षेत्रमा पनि मतदान हुने जनाएको छ ।
युक्रेनको केही भू-भाग पनि रुसी सेनाको नियन्त्रणमा आएको छ ।
युक्रेनले आफूले कब्जा गरेको क्षेत्रबाट सबै सैनिकलाई अन्तिमसम्म नहटाउने र आराम पनि नगर्ने बताएको छ ।
रूसमा लगभग ११० मिलियन मानिसहरूलाई मतदान गर्ने अधिकार छ, तर सामान्यतया लगभग ७०–८० मिलियन मानिसहरूले मात्र मतदान गर्छन् ।
यसअघि सन् २०१८ मा ६७.५ प्रतिशतले मतदान गरेका थिए ।
उल्लेखनीय छ कि भ्लादिमिर पुटिन सन् १९९९ मा पहिलो पटक रुसको राष्ट्रपति बनेका थिए ।
सन् १९९९ को अन्तिम दिन उनलाई बोरिस येल्तसिनले राष्ट्रपतिको पद हस्तान्तरण गरेका थिए, त्यसपछि पुटिनले जोसेफ स्टालिनपछिका कुनै पनि रुसी शासकभन्दा लामो समयसम्म यो पदमा काम गरेका छन् ।
राष्ट्रपति नियुक्त भएपछि पुटिनले २००० को राष्ट्रपति चुनावमा ५३ प्रतिशत र २००४ को चुनाव ७१.०३ प्रतिशत मत ल्याएर जितेका थिए ।