अमेरिकाले गाजा युद्धमा युद्धविरामका लागि संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावमाथि भिटो (विशेषाधिकार) लगाएपछि इरानले शनिबार मध्यपूर्वमा अवस्थाको ‘नियन्त्रण गर्न नसकिने विस्फोट’ हुने खतराको चेतावनी दिएको छ ।
इस्लामिक गणतन्त्र इरानका शीर्ष कूटनीतिज्ञ (विदेशमन्त्री) होसेन अमिर–अब्दुल्लाहियानले गाजापट्टीमा मानवीय सहायता पठाउन सक्षम बनाउन इजिप्टसँगको राफा सीमालाई तत्काल खोल्न अपिल गरे ।
इजराइली अधिकारीहरूका अनुसार इरान समर्थित इस्लामिक लडाकू समूह हमासले अक्टोबर ७ मा दक्षिणी इजराइलमा गरेको आश्चर्यजनक हमलामा अधिकांश सर्वसाधारणसहित करिब एक हजार दुई सय मानिसको मृत्यु भएको छ भने हमासले करिब दुई सय ४० जनालाई बन्धक बनाएको छ ।
इजराइलले जवाफमा हमासलाई नष्ट गर्ने वाचा गर्दै गाजामा आक्रामक हमला सुरु गरेको छ ।
हमलामा प्यालेस्टिनी क्षेत्रमा अधिकांश सर्वसाधारणसहित १७ हजार चार सयभन्दा बढी मानिसको मृत्यु भएको गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले बताएको छ ।
इजराइल अमेरिकाको मुख्य सहयोगी मुलुक हो ।