इजरायली बमबारीका बावजुद गाजामा नयाँ युद्धविराम र हमासको कब्जामा रहेका बन्धकहरूलाई मुक्त गर्न मध्यस्थता प्रयास जारी रहेको कतारका प्रधानमन्त्रीले आइतबार बताए ।
कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीले दोहा फोरममा भने, कतार राज्यको रूपमा हाम्रा साझेदारहरूसँग हाम्रो प्रयास जारी छ । हामी हार मान्दैनौं ।
उनले प्रसङ्गलाई थप्दै भने, बमबारीको निरन्तरताले हाम्रो वार्ता प्रयासमा जटिलता भने ल्याएको छ ।
गत अक्टोबर ७ मा भएको आक्रमणमा हमासले एक हजार २०० व्यक्तिको हत्या गर्नुका साथै २४० जनालाई बन्धक बनाएपछि इजरायलले हमासविरुद्ध युद्धको घोषणा गरेको इजरायली तथ्याङ्कले जनाएको छ ।
इजरायली आक्रमणका कारण गाजामा कम्तीमा १७ हजार ७०० व्यक्तिको मृत्यु भएको हमास नियन्त्रित गाजास्थित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । कतार वार्तामा एक प्रमुख मध्यस्थकर्ता हो ।
कतारको निरन्तरको वार्ता र शान्तिको प्रयासको परिणामस्वरूप सात दिनको युद्धविराम भएको थियो ।
उक्त अवधिमा धेरै इजरायली बन्धकहरूसँग प्यालेस्टिनी कैदी र मानवीय सहायताको आदान–प्रदान भएको छ ।
कतारका प्रधानमन्त्रीले भने, हामी प्रयास जारी राख्नेछौं, हामी बन्धकहरूलाई रिहा गर्न र युद्ध रोक्न पनि प्रतिबद्ध छौं । उनले भने, हामीले दुवै पक्षबाट समान इच्छा प्रकट भएको देख्दैनौं ।
यसअघि दोहा फोरमलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले इजरायल–हमास द्वन्द्वको समाधानलाई कमजोर पार्ने भू–रणनीतिक विभाजनका कारण सुरक्षा परिषद् पङ्गु भएको बताएका थिए ।
गाजायुद्ध विरामको आह्वान गर्ने प्रस्तावलाई अमेरिकी भिटोले रोकेको दुई दिनपछि उनले युद्धमा ढिलाइ हुँदा उक्त निकायको ‘अधिकार र विश्वसनीयतालाई गम्भीर रूपमा कमजोर पारिएको’ बताए ।
उनले भने,, मानवीय युद्धविरामको घोषणाका लागि मैले आफ्नो अपिल दोहो¥याएको छु । दुःखको कुरा, सुरक्षा परिषद्ले त्यसो गर्न सकेन । म प्रतिवद्धता व्यक्त गर्न सक्छु हार मान्दिनँ ।
गुटेर्रेसले गाजामा दुई महिना लामो संघर्षपछि संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाएका थिए ।
उनले संयुक्त राष्ट्रसङ्घको बडापत्रको विरलै प्रयोग हुने धारा ९९ लाई प्रयोग गर्दै राष्ट्रसङ्को महासचिवको हैसियतमा ‘अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम राख्न खतरा हुन सक्ने कुनै पनि विषय’ प्रति सुरक्षा परिषद्को ध्यानाकर्षण गराए ।
दशकौंदेखि संयुक्त राष्ट्रसङ्घका प्रमुखले यो धारालाई विरलै प्रयोग गरेका थिए । गुटेर्रेसले दोहा फोरममा भने, हामी मानवीय प्रणाली ध्वस्त हुने गम्भीर जोखिमको सामना गरिरहेका छौं ।
स्थिति तीव्र गतिमा विपत्तिमा परिणत भइरहेको छ र यसले समग्र प्यालेस्टिनी र यस क्षेत्रको शान्ति र सुरक्षामा सम्भावित अपरिवर्तनीय प्रभाव पार्नेछ ।