काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल औषधि लिमिटेडबाट औषधि उत्पादनका निम्ति भएका प्रयासको सराहना गर्दै २० प्रकारका औषधि उत्पादनको काम तत्काल थाल्न निर्देशन दिएका छन् ।
नेपाल औषधि लिमिटेडका अध्यक्ष यज्ञ न्यौपानेसहितको टोलीलाई आज आफ्नै कार्यकक्षमा बोलाएर प्रधानमन्त्रीले तत्काल उत्पादन थाल्न निर्देशन दिएका हुन् ।
त्यस अवसरमा प्रधानमन्त्रीले विगतमा नेपाल औषधि लिमिटेडले औषधि उत्पादनका क्षेत्रमा राम्रो काम गरेको र पछिल्लोसमय त्यसमा अवरोध देखिएको भन्दै नयाँ ढङ्गले काम अगाडि बढाउन निर्देशन दिए ।
प्रधानमन्त्रीले भने, विगतमा नेपाल औषधि लिमिटेडले औषधि उत्पादनका क्षेत्रमा राम्रो काम गरेको थियो, बीचमा चाहिँ तलमाथि भएको मैले बुझेँ ।
औषधि उत्पादनको कामलाई नयाँ ढङ्गले गति दिनुपर्छ भनेर नै मैले यो बैठक बोलाएको हुँ ।
तपाईहरू काम सुरू गर्नुस् सरकारको तर्फबाट जे–जस्तो सहयोग गर्नुपर्छ, त्यसका निम्ति म तयार छु ।
प्रधानमन्त्रीले अहिले २० वटा औषधि उत्पादनबाट काम सुरू गरेर भविष्यमा त्यसको गुण र मात्रा दुवै बढाउनुपर्नेमा जोडदिए ।
उनले, देश आत्मनिर्भर बन्ने आशालाग्दो एउटा क्षेत्र यो पनि हो । सबै कुरा एकैपटक नहोला । तपाईहरू काम सुरू गर्नुस् । म पनि अर्थ मन्त्रालय र उद्योग मन्त्रालयसँग थप छलफल गर्छु । यस क्षेत्रमा जनतालाई महसुस हुनेगरी काम गरौँ ।