काठमाडौँ, १२ साउन – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले वीर अस्पताल सुधार गर्न सकेमा देशको सम्पूर्ण स्वास्थ्य सेवा प्रणालीमा आमूल सुधार सम्भव हुने बताएका छन । वीर अस्पतालको १३६ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले अस्पताल सुधारका लागि सरकारले सम्पूर्ण आवश्यक उपाय अपनाउने स्पष्ट पारे ।
उनले भने, “नेपालको स्वास्थ्य क्षेत्रको तस्बिर हेर्न वीर अस्पताल काफी छ। वीर सुधार गर्न सकियो भने स्वास्थ्य क्षेत्र पनि सुध्रन्छ। यसका लागि आवश्यक उपकरण र पूर्वाधार उपलब्ध गराउन मन्त्रालयले हदैसम्म प्रयास गर्नेछ।”
मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा अझै धेरै सुधार आवश्यक रहेको भन्दै त्यसका लागि राज्यको थप लगानी अपरिहार्य रहेको उल्लेख गरेका छन । “सुधार नभएको होइन, तर पूर्णरूपमा सुधार भएको छैन । अब सबै गम्भीर भएर लाग्नुपर्छ,” उनको भनाइ थियो।
उनले भदौ महिनासम्म सबै सरकारी अस्पतालका बीमा रकम फर्छ्योट गर्ने लक्ष्य रहेको पनि जानकारी दिएका छन ।
समारोहमा वीर अस्पतालका निर्देशक प्रा.डा.दिलीप शर्माले आर्थिक वर्ष २०८१।८२ को प्रतिवेदन प्रस्तुत गर्दै अस्पतालको सेवा विवरण सार्वजनिक गरेका छन । उनका अनुसार गत वर्ष बाहिरङ्ग सेवा अनलाइनसहित ६ लाख ४७ हजार २१५ जनाले लिएका छन्। यस्तै, आकस्मिक सेवा ३५ हजार १४१, अन्तरङ्ग सेवा २१ हजार २२४ र शल्यक्रिया सेवा २६ हजार ४४६ जनाले लिएका छन् ।
अस्पतालमा दैनिक औसत दुई हजार ५०० भन्दा बढी बिरामीले सेवा लिइरहेको जानकारी दिँदै डा.शर्माले अस्पताललाई केन्द्रीय रिफरल तथा अध्ययन अनुसन्धान केन्द्रको रूपमा विकास गर्न सबैको सहकार्य आवश्यक रहेको धारणा राखे ।
विसं १९४६ साउन १२ गते १५ श्ययाबाट सुरु भएको वीर अस्पतालको हाल स्वीकृत क्षमता ९६० पुगेको छ । अस्पतालले हाल २२ वटा क्लिनिकल विभाग र तीन वटा क्लिनिकल युनिटमार्फत आधारभूतदेखि अति विशिष्ट सेवा प्रदान गर्दै आएको छ ।
यद्यपि डा. शर्माले अत्यावश्यक शीर्षक अन्तर्गत बजेट अभाव, स्वास्थ्य बीमा बोर्डबाट समयमै भुक्तानी नआउनु, कर्मचारी दरबन्दीमा कमी, तथा प्राविधिक जनशक्तिको अभावजस्ता समस्याले अस्पताल सञ्चालनमा चुनौती थपिएको समेत बताएका छन ।