पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई राज्यको गोप्य दस्तावेज चुहावट गरेको अभियोगमा १० वर्षको जेल सजाय सुनाइएको छ ।
सन् २०२२ मा प्रधानमन्त्री पदबाट विपक्षीहरूले अपदस्थ गरेका खान भ्रष्टाचारको आरोपमा दोषी ठहरिएपछि तीन वर्षको जेल सजाय भोगिरहेका छन् ।
पछिल्लो फैसलापछि पनि उनले आफूमाथि लगाइएका सबै आरोप राजनीतिक प्रेरित भएको बताएका छन् ।
पाकिस्तानमा आमनिर्वाचनको एक हप्ताअगाडि मात्र खानविरुद्ध यस्तो फैसला आएको हो, जसले उनलाई उम्मेदवार हुन निषेध गरेको छ ।
विशेष अदालतले खानसहित पूर्वविदेशमन्त्री तथा तेहरिक–ए–इन्साफ पार्टीका उपाध्यक्ष शाह महमूद कुरेसीलाई पनि १० वर्षको जेल सजाय सुनाएको छ ।
खान प्रधानमन्त्री हुँदा वासिङ्टनस्थित पाकिस्तानका राजदूतले इस्लामावादमा पठाएको गोप्य कूटनीतिक पत्राचार चुहावट गरेको आरोप छ ।
सन् २०२२ को मार्चमा भएको र्यालीमा इमरान खानले स्टेजमा गोप्य कूटनीतिक पत्र देखाउँदै आफूविरुद्ध विदेशी षड्यन्त्र भएको बताएका थिए ।
अविश्वास मतमा सत्ताबाट हटाउनुभन्दा एक महिनाअघि खानले त्यसो गरेका थिए । त्यसबेला उनले अमेरिकाको अत्यधिक आलोचना गरेका थिए ।
अभियोजन पक्षले पूर्वप्रधानमन्त्रीको कार्यले गोप्य दस्तावेज चुहावट र कूटनीतिक सम्बन्ध बिगार्ने बताएको छ ।
यो पछिल्लो आरोपमा खानलाई आजीवन कारावास वा मृत्युदण्डको सजाय पनि हुन सक्ने बीबीसीले जनाएको छ ।