अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको नाम नोबेल शान्ति पुरस्कारका लागि चौथोपटक सिफारिस गरिएको छ । अमेरिकी विपक्षी दल रिपब्लिकन पार्टीकी सांसद क्लाउडिया टेनीले ट्रम्पको नाम नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गरेकी हुन् ।
यससँगै ट्रम्प नोबेल शान्ति पुरस्कारको मनोनयन प्रक्रियामा प्रवेश गरेका छन् । क्लाउडिया टेनीले यस विषयमा भनेकी छिन्, ‘मध्यपूर्वमा ट्रम्पको ऐतिहासिक नीतिका कारण उनको नाम मनोनयनमा पठाएको हुँ ।’
उनले सन् २०२० को अब्राह्म एकर्ड्स सम्झौताका कारण ट्रम्प नोबेल शान्ति पुरस्कारका लागि योग्य भएको बताएकी छिन् । अब्राह्म एकर्ड्स सम्झौताका कारण यूएई, बहराइन र इजरायलबीच जारी तनाव हटेको थियो ।
ट्रम्पले उक्त सम्झौताका लागि मध्यस्थता गरेका थिए । सो सम्झौतापछि नै यूएई, बहराइन र इजरायलले आफ्नो राजनीतिक सम्बन्ध सुरुवात गरेका थिए । यो सम्झौताको लक्ष्य मध्यपूर्वमा इजरायललाई मान्यता दिनु थियो ।
यो सम्झौतापछि नै बहराइन, मोरोक्को, सुडान र यूएईले इजरायललाई देशको रूपमा मान्यता दिएको थियो । यसपछि नै यी देशहरू र इजरायलबीच व्यापार र रक्षा साझेदारी खुला भएको थियो ।
रिपब्लिकन सांसद क्लाउडिया टेनीका अनुसार लगभग ३० वर्षमा मध्यपूर्वमा पहिलो नयाँ शान्ति सम्झौतालाई सहज बनाउन डोनाल्ड ट्रम्पको महत्त्वपूर्ण भूमिका थियो ।
‘दशकौँसम्म विज्ञहरूले इजरायल–प्यालेस्टाइन द्वन्द्वको समाधानबिना मध्यपूर्वमा शान्ति सम्झौता असम्भव थियो भने पनि राष्ट्रपति ट्रम्पले त्यो झुटो सावित गर्नुभयो,’ उनले भनिन् ।