इजरायल र हमासबीच युद्ध जारी छ । यसैबीच हमासको सबैभन्दा डरलाग्दो सशस्त्र शाखा अल कसमु ब्रिगेडले आइतवार साँझ टेलिग्राम च्यानलमा गाजा पट्टीमा पछिल्लो ९६ घण्टादेखि इजरायली आक्रमण भइरहेको दाबी गरेको छ ।
यी आक्रमणहरूमा दुई इजरायली बन्धकको मृत्यु भएको र अन्य ८ जना गम्भीर घाइते भएको दाबी गरिएको छ । प्यालेस्टाइनी समाचार संस्थाहरूका अनुसार अनुसार बाँकी बन्धकहरूलाई राम्रोसँग उपचार प्रदान गर्न असुविधाजनक भएको पनि बताएको छ ।
उचित उपचार नहुँदा उनको अवस्था झन झन बिग्रदै गएको छ । हमास ब्रिगेडले इजरायलको लगातारको बमबारीका कारण घाइते भएका मानिसको ज्यान जाने सम्पूर्ण जिम्मेवारी लिएको पनि दाबी गरेको छ ।
इजरायली तथ्याङ्कका अनुसार हमास लडाकुहरूले गत वर्ष अक्टोबर ७ मा दक्षिणी इजरायलमा श्रृंखलाबद्ध रकेट आक्रमणहरू शुरू गरेका थिए, जसमा १२ सय मानिसहरू मारिएका थिए र कम्तिमा २५० मानिसहरू अपहरण भएका थिए ।
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार इजरायलले गाजा पट्टीमा सैन्य आक्रमण गरेर २८ हजार भन्दा बढी प्यालेस्टिनी मारिएका छन ।
गत नोभेम्बरमा इजरायल–हमास युद्धका क्रममा दुबै पक्षले बन्धक बनाएकाहरूलाई रिहा गर्न एक हप्ता लामो युद्धविराम भएको थियो ।
नोभेम्बर २०२३ को अन्तमा हस्ताक्षर गरिएको यो युद्धविरामको क्रममा हमासले १०० भन्दा बढी इजरायली र विदेशी बन्धकहरूलाई रिहा गरेको थियो ।
सोही क्रममा इजरायलले बन्धक बनाएका २४० प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरिएको थियो । इजरायलले गाजामा अझै १३६ जना बन्धक रहेको दाबी गर्दै आएको छ ।