अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध ठगी मुद्दामा त्यहाँको अदालतले कारबाही सुनाएको छ ।
समाचार संस्था सीएनएनका अनुसार, न्युयोर्कको एक अदालतले शुक्रबार ट्रम्प र उनको ट्रम्प अर्गनाइजेसनविरुद्ध कारबाहीको निर्णय सुनाउँदै ३ सय ५५ मिलियन डलर जरिवाना तिर्न आदेश दिएको हो ।
यति मात्र होइन, अदालतले ट्रम्पलाई न्युयोर्कमा कम्पनीको निर्देशकका रूपमा काम गर्न तीन वर्षका लागि प्रतिबन्धसमेत लगाएको छ ।
अदालतले उनका दुई छोरा डोनल्ड ट्रम्प जुनियर र एरिक ट्रम्पलाई पनि ४/४ मिलियन डलर जरिवाना भर्न आदेश गरेको छ ।
कोर्टले दुवैलाई दुई वर्षका लागि निर्देशक भएर काम नगर्न पनि भनेको छ । पूर्वराष्ट्रपति ट्रम्प र उनका छोरामाथि बैंक, बीमा कम्पनी र अन्य मानिसलाई झुक्याएर घरजग्गाको साम्राज्य खडा गरेको आरोप थियो ।
लाभ लिनका लागि उनीहरूले आफ्नो सम्पत्ति विवरण बढाइचढाई गरी पेस गरेका पीडितहरूको भनाइ थियो । यद्यपि, ट्रप र उनका छोराहरूले आरोप इन्कार गर्दै आएका छन् ।
अमेरिकी मिडियाले ट्रम्पविरुद्ध अदालतले गरेको पछिल्लो कारबाहीलाई ठूलो भनेका छन् ।