सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

अन्तर्राष्ट्रिय

जापानले गर्‍यो नयाँ पुस्ताको रकेटको सफल परीक्षण


  • 586
    SHARES
  • https://indrenipost.com/posts/6726
    फागुन ५, २०८० शनिबार
    जापानले गर्‍यो नयाँ पुस्ताको रकेटको सफल परीक्षण

    टोकियो । जापानको अन्तरिक्ष निकाय (जाक्सा)ले आफ्नो नयाँ रकेटको सफल प्रक्षेपण गरेको छ । वर्षौँको ढिलाइ र यसअघिका दुई असफल प्रयासबाट निराशा भोगेको जाक्सालाई एच–थ्रीको सफल परीक्षणले उत्साहित बनाएको छ ।

    नयाँ पुस्ताको एच–थ्रीलाई स्पेसएक्सको फाल्कन ९ को प्रतिद्वन्द्वीका रूपमा प्रस्तुत गरिएको छ । यसले एक दिन चन्द्रमाको सतहमा सामान पुर्‍याउने काम गर्न सक्छ ।

    जाक्साका अध्यक्ष हिरोशी यामाकावाले भने, “म लामो समयदेखि अन्तरिक्ष अभियानमा छु । तर, मैले पहिले कहिल्यै यति धेरै खुसी महसुस गरेको थिइनँ । र, मैले कहिल्यै यति राहत महसुस गरेको थिइनँ । जापानले गएको महिना चन्द्रमामा मानवरहित यानको सफल अवतरण गराएको थियो । त्यसपछि जापान चन्द्रमाको सतहमा यान अवतरण गर्ने पाँचौँ देश बनेको छ । दक्षिणपश्चिमी जापानको तानेगाशिमा अन्तरिक्ष केन्द्रबाट स्थानीय समयानुसार बिहान ९ः२२ बजे एच–थ्री प्रक्षेपण गरिएको थियो । एजेन्सीको लाइभ स्ट्रिममा एच–थ्रीको इन्जिनले अपेक्षाकृत रूपमा काम गरेको र रकेटले यसलाई अन्तरक्षिको कक्षमा प्रवेश गराएको घोषणा गरेपछि जाक्सा कन्ट्रोल सेन्टरबाट ताली र आवाजद्वारा खुसी व्यक्त गरिएको चर्को आवाज सुनिएको थियो ।

    जाक्सा र मित्सुबिशी हेभी इन्डस्ट्रिजद्वारा संयुक्त रूपमा विकास गरिएको एच–थ्री सन् २००१ मा सुरु भएको एच–आईआईए प्रक्षेपण प्रणालीको उत्तराधिकारी हो ।

    “उच्च ललिलोपन, उच्च विश्वसनीयता र उच्च लागत प्रदर्शन’को निम्ति डिजाइन गरिएको शिल्पले अन्तरिक्षमा जापानको स्वायत्त पहुँच कायम राख्नेछ,” जाक्साले भनेको छ ।

    वैज्ञानिकले एच–थ्रीमा प्रयोग भएकोे विश्वकै पहिलो प्रविधिको परीक्षण महत्त्वपूर्ण रहेको बताएका छन् । युनिभर्सिटी अफ मेलबोर्नको मेलबर्न स्पेस ल्याबोरेटरीका निर्देशक मिचेल ट्रेन्टीले भने, “एच–थ्री रकेटमा पहिलो चरणको अद्वितीय इन्जिन छ ।

    यसले अत्याधुनिक रकेटको तुलनामा बढी सन्तुष्टि प्रदान गर्छ । एच–थ्रीमा सबैभन्दा लागत प्रभावी रकेट हुने क्षमता छ । जसले सौर्य प्रणालीको अन्वेषणलाई अझ किफायती बनाउनेछ” उनले भने । सन् २०२३ को फेब्रुअरीमा इन्धन प्रज्वलनको समस्याले रकेटलाई जमिनमा गतिहीन बनाएपछि प्रक्षेपण रद्द गरिएको थियो ।

    गत वर्षको मार्चमा दोस्रोपटक गरिएको प्रयासमा प्राविधिक समस्याका कारण प्रक्षेपण गरिएको केही समयपछि नै विस्फोट भएको थियो । सबैभन्दा पछिल्लो यो प्रक्षेपण पनि खराब मौसमका कारण चार दिनपछि सारिएको थियो ।

    तर, शनिबार सफलतापूर्वक प्रक्षेपण गरिएको रकेटले दुई साना स्याटेलाइट बोकेको छ । एउटा माइक्रोस्याटेलाइटले फोटो र भिडियो खिचेर विपद् रोकथाममा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

    सेन्सरको साथ सुसज्जित अर्को स्याटेलाइट इन्फ्रारेड किरणहरू पत्ता लगाउन जमिनमा कारखानाहरूको सञ्चालन अवस्थाहरू पछ्याउने उद्देश्यले तयार पारिएको हो ।

    जाक्साको लाइभ स्ट्रिमका अनुसार माइक्रोसेटेलाइट्सलाई छुट्टयाउने काम पनि भएको पुष्टि भएको थियो । जाक्साका एक अधिकारीले भने, “रकेटलाई सफलतापूर्वक अन्तरिक्षमा पुर्‍याएपछि हामी नतिजाको विश्लेषण जारी राख्नेछौँ ।” फ्लिन्डर्स युनिभर्सिटीकी अन्तरिक्ष अन्वेषणविज्ञ एलिस गोर्मनका अनुसार, एच–थ्री पृथ्वीको कक्षमा भू–उपग्रह प्रक्षेपण गर्न, अन्तरिक्ष स्टेसनका निम्ति आपूर्ति यानका रूपमा काम गर्न र चन्द्रमामा जान सक्षम हुनेजस्ता बहुकार्य गर्न सक्ने रकेट हुनेछ ।

    जापानले गएको महिना चन्द्रमाको सतहमा ‘मून स्नीपर’ उपनाम दिइएको स्लिम अन्तरिक्षयान अवतरण गराउन सफल भएको थियो । बर्मिंघम विश्वविद्यालयका एस्ट्रोफिजिक्सका मानार्थ प्राध्यापक एड्रियन माइकल क्रुजका अनुसार, हालैका असफलताका बाबजुद जापानको अन्तरिक्ष कार्यक्रम आफ्नो अहिलेसम्मको प्रदर्शनभन्दा धेरै माथि पुगेको छ ।

    उनले भने, “जापानले केही प्रमुख खेलाडीहरूलाई चुनौती दिँदै अन्तरिक्ष अन्वेषणका लागि भविष्यको महत्त्वाकांक्षा राखेको छ ।” रासस/एएफपी

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij