इनरुवा (सुनसरी) । भारतीय सीमासुरक्षा बल (एसएसबी)का कारण सीमा क्षेत्रका नेपालीलाई सास्ती भएको भन्दै स्थानीयले सुरक्षाको माग गरेका छन् ।
जिल्ला सुरक्षा समितिले सुनसरीमा सुरु गरेकोे ‘सीमा पैदल यात्रा तथा अन्तरक्रिया’ कार्यक्रममा भारतीयले बिनाकारण दुःख दिँदा सास्ती हुने गरेको भन्दै केन्द्रीयस्तरबाटै सुरक्षाको पहल गर्न स्थानीयले माग गरेका हुन् ।
एसएसबीले नाकामा नेपालीलाई पटकपटक कुटपिट गर्ने र लुट्ने गरेको भन्दै सीमाक्षेत्रमा प्रभावकारी सुरक्षाको व्यवस्था गरिनुपर्ने हरिनगरका स्थानीय इसराइल मन्सुरीले बताए ।
दुई देशको सीमा नाका खुला भएकाले नेपाली रोजगार र किनमेलका लागि नाका जाने गरेका उनको भनाइ थियो । नाकामा भारतीय सुरक्षा बलले नेपालीलाई कुटपिट गर्ने गरेकाले सुरक्षाको माग गरिएको कासिम मियाँले बताए ।
केही दिनअघि पनि एसएसबीले नेपाल प्रवेश गरेर परिवारका सदस्यमाथि कुटपिट गरेको उनको भनाइ छ ।
अन्तर्राष्ट्रिय सीमा सम्झौताअनुसार दशगजा क्षेत्रमा भौतिक संरचना निर्माण गर्न र प्रयोग गर्न नपाउने प्रावधान भए पनि नेपाल–भारत सिमानामा पर्ने दशगजा क्षेत्रमा भारतीयले निर्वाधरूपमा घरटहरा बनाउने गरेको हरिनगरका अताउल अन्सारीले बताए ।