काठमाडौं । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या ३० हजार ९६० पुगेको छ ।
साथै ७२ हजार ५२४ अन्य घाइते भएका छन् । पछिल्लो २४ घण्टामा इजरायली सेनाले ८२ प्यालेस्टाइनीको हत्या गरेको छ भने १२२ जना घाइते भएका छन् ।
शुक्रबार रातिदेखि गाजापट्टीका धेरै क्षेत्रहरूलाई लक्षित गरी इजरायली हवाई आक्रमणमा दर्जनौँ प्यालेस्टाइनीहरू मारिएका छन् । जसमध्ये अधिकांश बालबालिका र महिलाहरू मारिएका छन् ।
दक्षिणी गाजापट्टीका खान युनिस र रफाह सहरहरूमा भएका धेरै घरहरूलाई निशाना बनाएर गरिएको हवाई आक्रमणमा कम्तीमा २३ जनाको मृत्यु भएको जनाएको छ ।