काठमाडौं । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन् । उनी पदमा रहँदा पक्राउ पर्ने पहिलो मुख्यमन्त्री हुन् ।
आम आद्मी पार्टी (आप)का अध्यक्षसमेत रहेका केजरीवाललाई बिहीबार राति उनकै निवासबाट पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतीय मिडिया रिपोर्टका अनुसार कर विभागअन्तर्गतको प्रवर्तन निर्देशनालय (ईडी)ले केजरीवाललाई बिहीबार बिहान ११ बजे सोधपुछका लागि बोलाएको थियो ।
तर, ईडीको प्रक्रियाविरुद्ध उनी दिल्ली उच्च अदालत पुगे । उनले अदालतसमक्ष आफूलाई पक्राउ गर्नबाट रोक्न आग्रह गरेका थिए । तर, अदालतले उनलाई अहिलेको अवस्थामा कुनै आदेश दिन नसकिने जवाफ दिएको थियो ।
त्यसपछि ईडी बिहीबार साँझ ७ बजेतिर केजरीवालको निवास पुग्यो । ईडीको टिमसँग 'सर्च वारेन्ट' थियो । ईडीले दुई घण्टाको सोधपुछपछि उनलाई करिब ९ बजेतिर पक्राउ गरेको थियो ।
त्यसक्रममा नाराबाजी गर्ने आम आदमी पार्टीका कार्यकर्तालाई पनि प्रहरीले पक्राउ गरेको थियो । उनलाई ईडी हेडक्वार्डर लगिएको थियो ।