रुसमा एउटा कन्सर्ट हलमा हतियारधारीले गोली चलाउँदा ६० जनाको मृत्यु भएको छ । मस्को नजिकैको क्रोकस सिटी हलमा भएको यो घटनामा १४५ जना घाइते भएका छन् ।
रोयटर्सका अनुसार यहाँ कन्सर्ट हुन लाग्दै गर्दा ती हतियारधारीले गोली चलाएका हुन् । कन्सर्टअघि भेष बदलेर हलभित्र प्रवेश गरेका हतियारधारीले अन्धाधुन्द गोली चलाएका थिए ।
आरआईए नोवोस्ती समाचार एजेन्सीका अनुसार कम्तीमा तीन आक्रमणकारी हलमा प्रवेश गरेका थिए । घटनास्थलमा पुगेका सुरक्षाकर्मीले बेसमेन्टबाट करिब १०० जनाभन्दा बढीको उद्धार गरेका छन् ।
घाइतेमध्ये ६० जनाको अवस्था गम्भीर रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । राष्ट्रपति म्लादिमिर पुटिनले घटनाप्रति दु:ख व्यक्त गर्दै आक्रमणमा घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
मस्कोका मेयर सर्गेई सोब्यानिनले आक्रमणलाई ‘भयानक त्रासदी’ भनेका छन् । यसैबीच आक्रमणको जिम्मेवारी आईएसआईएसले लिएको सीएनएनले जनाएको छ ।