नेकपा (माओवादी केन्द्र)ले गठन गरेका ३३ वटा विभागहरूमध्ये सम्भवतः सबैभन्दा क्रियाशील र महत्वपुर्ण विभाग हो, ‘स्कुल विभाग ।’ यसको इञ्चार्ज प्रधानमन्त्री तथा पार्टी अध्यक्ष स्वयं हुन् भने विभाग प्रमुख उपमहासचिव गिरीराजमणी पोख्रेल हुन् । विभागको सचिव रामदिप आचार्य माओवादी पंक्तिमा थोरै अध्ययनशील नेताहरूमध्ये एक हुन् । मानव जातिले आर्जन गरेको सर्वोच्च ज्ञानले लैस नभइकन कोही पनि सच्चा कम्युनिष्ट हुन सक्दैन भन्ने लेनीनको भनाइलाई उनी बारम्बार दोहोर्याउने गर्दछन् । उनै आचार्यसँग स्कुल विभाग र यसका गतिविधिबारे कुराकानी गरेका छौँ ।
अहिले स्कुल विभाग के गर्दैछ ?
स्कुल विभाग पार्टीको निकै महत्वपुर्ण विभाग हो । यसले पार्टीको विचारधारात्मक कामलाई केन्द्रमा राखेर काम गर्दछ । स्कुल विभागले पार्टीको मस्तिष्कको काम गर्नुपर्दछ । विभागले पहिलो चरणमा केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम पाँच दिनसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्पन्न भएको छ । पार्टी अध्यक्षले उद्घाटन गर्नुभएको उक्त कार्यक्रम निकै लाभदायक छ । यसपछि भौगोलिक र गैर भौगोलिक आठवटा प्रदेशमा कार्यक्रम भएको छ । मधेस र सुदूरपश्चिम प्रदेशमा बाँकी छ । जिल्ला र पालिका एवं कतिपय जनवर्गीय संगठनहरूले पनि कार्यक्रम उत्साहपूर्वक सम्पन्न गरेका छौँ ।
अबको पहिलो चरणमा ७५३ वटा पालिकाहरूमा प्रमुख प्रशिक्षक तयार पार्नेछ । प्रदेशस्तरमा कार्यक्रमद्वारा विषयगत प्रशिक्षक तयार पार्ने योजनामा माओवादी केन्द्र छ । त्यसैगरी जनवर्गीय र मोर्चा संगठनहरूमा पनि व्यापकस्तरमा कार्यक्रम सञ्चालन गर्नेगरी कार्ययोजना तर्जुमा गरिएको छ ।
कुन–कुन विषयलाई केन्द्रित गरेर कार्यक्रम गर्नुहुन्छ ?
माक्र्सवादको तीन संघटक अंगहरू दर्शनशास्त्र, राजनैतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद प्रशिक्षणको केन्द्रीय विषयहरू हुन् । नेपाली विशेषता बोकेको समाजवाद कस्तो हुनुपर्दछ, विज्ञान प्रविधि र सूचना प्रविधिमा भएको जुम्ल्याहा क्रान्तिले समाजमा पारेको प्रभाव, कृत्रिम बुद्धिमता, जलवायु परिवर्तन, विश्व व्यापीकरण र यसको प्रभावहरू खासगरी राष्टिय स्वाधिनताको सवाल हाम्रो प्रशिक्षणको मुख्य विषयहरु हुन् । जनसेवा र जनप्रतिनिधिहरुको काम, जनवर्गको सवाल पनि समेटिन्छ । नेपाली समाजको चरित्र आप्mनै प्रकृतिको छ । यहाँ दलित मुक्तिको सवाल वा जातीय मुक्तिको सवाल, महिला मुक्तिको सवालको आप्mनै विशेषताहरू छन् । जसलाई अनिवार्य रूपमा समेट्नु पर्दछ । रोजगारी र उद्यमशीलता वृद्धि गर्ने खालको बेग्लै प्रशिक्षण गर्नेछाँै ।
प्रशिक्षकहरू कसरी व्यवस्थापन गर्नुहुन्छ ?
अहिले हामीसँग तीनखाले प्रशिक्षकहरूको व्यवस्था छ । पहिलो पार्टी समितिका नेताहरू, दोस्रो, पार्टी भित्रका विज्ञहरू , तेस्रो पार्टी बाहिर रहेका विज्ञहरू । हामीसँग विज्ञहरुको सूची छ । त्यसकै आधारमा आवश्यकता अनुसार प्रशिक्षकको व्यवस्था गर्ने गरेका छाँै ।
शिक्षण विधि कस्तो छ ?
परम्परागत र आधुनिक दुवै समेटेका छौँ । हाम्रो समाजको असमान विकासको कारणले हामीले प्रशिक्षण पनि समान ढंगले गर्न सक्दैनौँ । आन्दोलनमा सहभागीहरूको रुचि र स्तर पनि असमान हुने भएकोले दुवै विधि प्रयोग गर्नुपरेको हो । परम्परागत विधिले पुराना कार्यकर्ताहरूलाई बढी संबोधन गर्नेछ भने आधुनिक विधिले युवा कार्यकर्ताहरूलाई बढी केन्द्रित गर्नेछ ।
सिद्धान्तको ज्ञान सँगै केही प्रयोगात्मक शैली पनि विकास गर्नेगरी योजना बनाउदैछाँै । उदाहरणको लागि समाजको वर्ग विश्लेषण, उद्यमशीलता र रोजगारीका अवसर सृजना, सामाजिक सांस्कृतिक बनोट लगातयका सवाल प्रयोगात्मक हुन सक्दछन् । संक्षेपमा, प्रशिक्षकले सहजिकरण गर्ने, समूहमा छलफल गर्ने र स्वअध्ययन गर्ने सबै विधि अबलम्बन गरिनेछ ।
तपाईंले अहिले कुन पुस्तक पढीरहनु भएको छ ? पाठकहरूलाई कस्ता पुस्तक पढ्न सुझाव दिनुहुन्छ ?
म अहिले एक जना स्नायु वैज्ञानिक जेफ हकिन्सको बुद्धिमताको हजार मस्तिष्क सिद्धान्त पुस्तक पढिरहेको छु । यसले मानव मस्तिष्कले कसरी काम गर्दछ भन्ने वैज्ञानिक तथ्यलाई सूरुचिपुर्ण तरिकाले व्याख्या गर्दछ । साथै मेसिनले कसरी सोच्न सक्दछ भन्ने जान्नको लागि पनि मस्तिष्कले कसरी काम गर्दछ भन्ने जान्न जरुरी छ । मानव बुद्धिमता (एचआई)बारे थाहा भयो भने मात्रै हामी कृत्रिम बुद्धमता (एआई)बारे जान्न सक्दछाँै ।
पाठकहरुले रुचि र आवश्यकताको आधारमा पुस्तक छनोट गर्नु उपयुक्त हुन्छ । रणनैतिक दृष्टिले नेतृत्व विकास गर्ने हो भने सामान्य नियमहरुको अध्ययन गरेर विशाल दृष्टिकोण बनाउन जरुरी हुन्छ । कार्यनीतिक दृष्टिले समस्यासँग जुध्ने हो भने समसमायिक सवालहरुमा बढी केन्द्रीत हुँदा हुन्छ । उद्देस्यको आधारमा अध्ययन गर्नु राम्रो हुन्छ । हामी सूचना प्रचुरताको युगमा छाँै । हामीलाई चाहिएको सबै सामाग्रीहरू लगभग निःशुल्क रूपमा प्राप्त गर्ने अवस्थामा छौँ ।
संसारको सबैभन्दा उन्नत मस्तिष्कले कसरी सोचेको छ । हामी त्यो सिक्न र ज्ञान साझा गर्न सक्छाँै । करोडौंं करोड पुस्तकहरू क्षणभरमै निःशुल्क पाउने अवस्था मानव जातिको इतिहासमा योभन्दा अघि कहिल्यै भएको थिएन । हामीसँग भएका पुस्तकहरू जसलाई जति प्रति दिनुपर्ने हो, निःशुल्क रूपमा तत्काल डिजिटल प्रति हामी दिन सक्छौँ । त्यो पनि वास्तविक समयमा । अरबौं मान्छेहरू साझा भर्चुअल कक्षामा सहभागी भएर पढ्न सक्ने जमानामा छौँ, हामी । यसलाई सूचना र ज्ञानको प्रचुरताको युग भन्न सकिन्छ ।
अध्ययन सामाग्री कुन–कुन स्रोतबाट संकलन गर्दा आधिकारीक र प्रभावकारी हुन्छ ?
मुख्य दुईवटा स्रोतहरू हुन्– ‘पुस्तक पसल र इन्टरनेट ।’ सामाग्री कति आधिकारीक छ भन्ने थाहा पाउन सन्दर्भ सामाग्रीको रुपमा उल्लेख गरिएका लेखकहरूका स्रोत हेर्नुपर्ने हुन्छ । अथवा, पुस्तक समीक्षाको आधारमा छनोट गर्ने । यदी अनुवाद गरिएको पुस्तक हो भने अनुवादकको शैली र आधिकारीक श्रोतबाट लिइएको हो वा होइन हेर्नुपर्दछ । अध्ययन गर्ने साथीहरूको सर्कल छ भने पुस्तक खोज्न झन् सजिलो हुन्छ । मैले विषय छनोट गरिसकेपछि साथीहरूको सुझाव र पुस्तक पसलमा गएर किताब छान्ने गरेको छु ।