आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

आगलागी

आगलागीबाट ७९ घर जले खरानी : १ जनाको मृत्यु, अरबौको क्षति


  • 514
    SHARES
  • https://indrenipost.com/posts/7810
    बैशाख १३, २०८१ बिहीबार
    आगलागीबाट ७९ घर जले खरानी : १ जनाको मृत्यु, अरबौको क्षति

    काठमाडौं । गत साउनदेखि यही वैशाख १२ गतेसम्म खोटाङका विभिन्न ठाउँमा भएको आगलागीबाट ७९ वटा घर लजेर नष्ट भएका छन् भने एक जनाले ज्यान गुमाएका छन् ।

    जिल्लाका विभिन्न १ सय १० वटा स्थानमा भएको आगलागीको घटनामा ५ करोडभन्दा बढीको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

    जिल्लामा भएको आगलागीमा परेर एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।

    सामुदायिक वनमा लागेको डढेलोबाट रावाबेँसी गाउँपालिका– १, कुभिण्डेस्थित हरमटारका ८५ वर्षीय सिद्धिबहादुर श्रेष्ठको जलेर मृत्यु भएको हो ।

    स्थानीय मैनाचौर सामुदायिक वननजिकैको खेतमा झिक्रा तथा पत्कर डढाउन लगाएको आगो अनियन्त्रित भएपछि निभाउने क्रममा श्रेष्ठको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

    विभिन्न समयमा भएका अन्य पाँच जना घाइतेको अवस्था सामान्य रहेको स्थानीयले बताएका छन् ।

    आगलागीबाट १ सय ७५ वटा चौपाया र १ सय ९५ पक्षी जलेर मरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिए । '

    जिल्लामा दैनिकजसो आगलागीका घटना भइरहेका छन् । आगलागी नियन्त्रण तथा उद्धारका लागि मातहतका प्रहरी परिचालन गरिएको छ,' उनले भने, 'घटनास्थलमा खटिएका प्रहरी आगलागीपीडितलाई सुरक्षित स्थानमा सार्नुका साथै थप क्षति हुन नदिन रातभर जाग्राम बस्नुपर्ने बाध्यता छ । जिल्लामा भएका अधिकांश आगलागीका घटना सामुदायिक वनमा लागेको डढेलोबाट हुने गरेको पाइएको छ ।'

    सामुदायिक वनमा लागेको डढेलो गाउँ पस्दा बुधबार मात्रै बराहपोखरी गाउँपालिका– १, बराहपोखरीमा– १३ वटा घर जलेर नष्ट भएको छ । विभिन्न चारवटा सामुदायिक वनमा लागेको डढेलो गाउँमा पस्दा १३ वटा घर, सातवटा मचान, दुईवटा गोठ, एउटा बाख्राखोर र एउटा भान्छाघर जलेर खरानी भएको हो ।

    बराहपोखरीका आगलागीपीडितको उद्धार, व्यवस्थापन तथा राहत उपलब्ध गराउने काम भइरहेको वडाध्यक्ष ढकबहादुर कार्कीले जानकारी दिएका छन् । वडाध्यक्ष कार्कीका अनुसार दिउँसोको समयमा भएको आगलागीबाट मानवीय क्षति नभएको तथा क्षतिको पूर्ण विवरण आउन बाँकी छ ।

    यस्तै, बुधबार नै दिउँसो स्थानीय ठूलो वन सामुदायिक वनमा लागेको डढेलोले हलेसी तुवाचुङ नगरपालिका– ४, बडहरेको तल्लो खोक्सेलीका भूपराज आलेमगर र भीमबहादुर बस्नेतको घर तथा नरबहादुर भुजेल, भेषबहादुर भुजेल र पदमबहादुर मगरको गोठ जलेको छ ।

    इलाका प्रहरी कार्यालय हलेसी र प्रहरी चौकी च्यास्मीटारका प्रहरीको टोली आगो नियन्त्रण गरेर फर्किएपछि पुनः हावाहुरीले उडाएको आगोले बस्नेतको घर जलेको वडाध्यक्ष किशोर बस्नेतले बताए ।

    दश स्थानीय तह रहेको जिल्लामा स्थानीय बासिन्दा आफैँले जानाजान सामुदायिक वनमा डढेलो लगाउँदा आगलागीका घटना हुने गरेको समाचार स्रोतको दाबी छ । हिउँदमा बोटबिरुवाबाट झरेका पातपतिङ्गरले वर्षामा घाँस पलाउन नदिने भएपछि डढाउन स्थानीय बासिन्दा आफैँले सामुदायिक वन क्षेत्रमा आगो लगाउने गरेको पाइएको छ ।

    सामुदायिक वन तथा आसपासका निजी जङ्गलमा लगाइने आगो नजिकै रहेको गाउँमा पस्दा ठूलो मात्रामा जनधनको क्षति हुनुका साथै अर्बौंको वनस्पति जलेर नष्ट हुने गरेको छ । सामुदायिक वनमा आगजनी गर्ने व्यक्तिलाई सम्बन्धित निकायले अहिलेसम्म कारबाहीको दायरामा ल्याउन सकेका छैनन् ।

    सामुदायिक वन क्षेत्रमा जानाजान आगजनी गर्ने व्यक्तिलाई दुईदेखि पाँच वर्षसम्म कैद सजाय तथा २० देखि ५० हजारसम्म जरिवाना हुने मुलुकी अपराध संहिता २०७४ मा उल्लेख छ ।

    सार्वजनिक सम्पत्तिमा हानी पुर्‍याउनु कानुनविपरीत हुने तथा वन क्षेत्रमा आगजनी गर्दा दीर्घकालीन असर पुग्ने चेतनाको अभावमा स्थानीय बासिन्दा आफैँले जानाजान सामुदायिक वनमा आगजनी गर्ने गरेका हुन् ।

    जिल्लामा आगलागीबाट हुने क्षति तथा बच्ने उपायका बारेमा सचेतनामूलक कार्यक्रम गरिए पनि जनस्तरमा नपुग्दा समस्या भएको जानकारले बताउने गरेका छन् ।

    आगलागीका घटना नियन्त्रण गर्न वन कार्यालय, सामुदायिक वन उपभोक्ता समिति तथा प्रहरीले सचेतनामूलक कार्यक्रम गर्दै आएका छन् ।

    दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा यस वर्ष मात्रै तीन दर्जन बढी सामुदायिक वनमा डढेलो लागेको डिभिजन वन कार्यालय खोटाङले जनाएको छ ।

    जिल्लाका विभिन्न सामुदायिक वनमा लागेको डढेलोले पशुपक्षी, काठ काट्न योग्य रुख तथा जडीबुटीजन्य वनस्पति जलेर नष्ट हुँदा अर्बौंको क्षति भइसकेको डिभिजन प्रमुख पशुपति दाहालले जानकारी दिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij