नेपालगञ्ज बाँके, १ भदौ बाँके जिल्ला अदालतमा मेलमिलाप प्रक्रियाबाट ८० मुद्दा समाधान भएका छन् । मेलमिलापबाट देवानी प्रकृतिका लेनदेन, अंशवण्डा, मानाचामल भराउने, लिखत बदर, सम्बन्धविच्छेद, जग्गा साँधलगायतका मुद्दा टुङ्गो लागेको हो ।
जिल्ला अदालतका सूचना अधिकारी तीर्थराज आर्चायले जानकारी दिएका छन । अदालतले मेलमिलापका लागि छलफल गर्न आदेश दिएका मुद्दा १,१८३ रहेका छन्, जस मध्ये ९० मुद्दा अझै बाँकी छन् । अदालतमा मेलमिलाप हुनसक्ने मुद्दा ६,०२७ र हुन नसकेका १,०१३ रहेको छ । यी सबै मुद्दा आर्थिक वर्ष २०८१÷८२ का हुन् ।
आर्चायले भने, “अदालतमा मुद्दा दर्ता भएपछिको प्रक्रियामा बेञ्चले एकपटक मेलमिलापको छलफल गराउने कानुनी व्यवस्था छ, तर मेलमिलाप नभएमा फैसला हुनेछ।”
अधिवक्ता वसन्त गौतमले मेलमिलापलाई पीडितमैत्री बनाउनु आवश्यक रहेको र कतिपय मुद्दामा गोपनीयताको प्राथमिकता दिनुपर्ने बताए ।
अदालतमा काम गरिरहेका १७ तालिमप्राप्त मेलमिलापकर्ताले मुद्दा समाधानमा भूमिका खेलेका छन् । आव २०८१÷८२ मा कुल ७,८०४ मुद्दामध्ये ४,६८५ मुद्दा फछ्र्योट भइसकेको छ । दुई वर्षभन्दा पुराना मुद्दा ५३ रहेका छन् ।