काठमाडौँ, १ भदौ ः गत वैशाखदेखि साउन ३१ गतेसम्म देशभर दुई हजार ८५३ विपद्का घटना घटेका छन् । ती घटनामा १२६ जनाले ज्यान गुमाएका छन् भने ५८५ जना घाइते भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्मा परेर २३ जना बेपत्ता भएका छन् । पाँच हजार ४१ परिवार प्रत्यक्ष प्रभावित भएका छन् ।
देशभर घटेका विपद्मध्ये आगलागीका सबैभन्दा धेरै एक हजार ११४ घटना दर्ता भएका छन् । त्यस्तै बाढी २१६, पहिरो ३१७, भारी वर्षा २२१, चट्याङ २४५, सर्पदंश ७७, डढेलो १५८, हुरीबतास २७७, जनावर आक्रमण १७२, लेक लागेको ४६, भूकम्प पाँच, डुङ्गा पल्टेर दुई तथा असिना हुरी र अन्यका एक–एक घटना दर्ता भएका छन् ।
साउन ३१ गते मात्र देशभर २३ वटा विपद्का घटना भएका छन् । आगलागी सात, बाढी एक, पहिरो आठ, अविरल वर्षा चार र जनावर आक्रमणका तीन घटना भएका प्राधिकरणले जनाएको छ । ती घटनामा एक जनाको मृत्यु भएको छ भने अनुमानित क्षति करिब रु ३८ लाख ४० हजार बराबर भएको छ ।
प्रभावित क्षेत्रमा उद्धार, राहत तथा व्यवस्थापनका लागि एक सय ४० प्रहरी परिचालन गरिएको प्राधिकरणले जानकारी दिएको छ ।