देउखुरी (दाङ) ।२०८१ वैशाख १६ गते बिहान करिब १० बजेतिर घरदेखि पश्चिमतरिको जङ्गलमा आगो लागेको थियो । सोही आगो निभाउन भनेर राजपुर गाउँपालिका–७ हाडबासका खिमलाल खत्री गएका छन् ।
गाउँले सबै त्यहीँ गएको समयमा छिमेकीको एक घरमा आगोले भेट्यो । त्यही आगोले खत्रीको घर पनि भेट्यो । घरभित्र रहेको सबै अन्नपात जलेर छिनभरमै खरानी भयो ।
छोराले गाडीको हेबी लाइसेन्स बनाउन भनेको थियो त्यो बुझाउनका लागि एक लाख ऋण गरेर ल्याएको पैसा र घरमा भएको २० हजार पैसा थियो त्यो पनि जल्यो । घरमा भएको अन्नपातदेखि सबै सामग्री खरानी भयो ।
यस्तो होला भनेर हामीले सोचेका थिएनौं अहिले खुल्ला आकाशमा बस्नु परेको छ खत्रीले भने । पाँचबोरा तोरी, मसुरो, चार क्विन्टल आलु थियो, सबै खरानी भयो । घरमा भएको अन्नपात लत्ताकपडा, भाँडाकुँडा केही पनि झिक्न नपाएको उनले सुनाए ।
शरीरका कपडाबाहेक केही बचेको छैन । कुखुराको खोर, गाईगोठ र बस्ने घर सबै जलेर आँखै अगाडि खरानी भयो । त्यही खरानीको थुप्रो हेरेर दिनरात कटाउँदैछौं उनले भने।
सोही ठाउँकी लक्ष्मी भण्डारीको घर, गोठ, बाख्राको खोर र कुखुराको खोर जलेर खरानी भएको छ । एक्कासि आगो घरमा आयो चारैतिरबाट घेरा हालेको आगोको रापले घरभित्र बस्न सकेनौँ बाहिर निस्कँदा घरभित्रको सामान सबै जल्यो सुत्ने खाट, दराज, टेबल सबै जलेर खरानी भयो भण्डारीले भने, “छवटा बाख्रा र पाँच सय कुखुरा पनि जलेर खरानी भए ।”
आगालागीले सबै जलेपछि केही सामग्री आएको छ, तर पकाउनका लागि भाँडा छैन । उहाँका लगाउने चप्पल पनि जलेर खाली खुट्टा हिँड्नु भएको थियो । सोही गाउँकी मिनीकुमारी बोहराको पाँचजनाको परिवार पनि खुल्ला आकाशमुनि बसेको छ । घरको अन्नपात, गोठ बाख्राको खोर सबै जल्यो ।
मान्छे कसरी सुरक्षित हुने भन्ने मात्रै सोच आयो सबै घरबाहिर रुवावासी गर्न थाल्यौं। घर नजिकमा पानी पनि छैन केही पर बग्ने राप्तीमा तल झर्ने बाटो छैन त्यहाँबाट पानी ल्याउन सम्भव भएन ।
गाउँले सबैको घर छिनभरमै खरानी भयो । घर छेउमा रहेका रूखबिरुवा पनि जलेका छन् । वडा नं ७ का अध्यक्ष पुस्कर वली घटनास्थलमै थिए । घटनाका बारेमा जानकारी प्राप्त हुने बित्तिकै आफू त्यहाँ पुगेको उनले बताए ।
स्थानीयवासीको उद्धारका लागि उनी लागिपरेका छन् । प्रहरीसँगको सहकार्यमा क्षतिको विवरण सङ्कलन गर्न लाहेका छन् । गाउँसम्म पुग्ने बाटो नहुँदा आगो निभाउन दमकल पुग्न नसकेको उनले बताए ।
नजिकै राप्ती नदी छ तर त्यहाँबाट पानी ल्याउन भाँडा नभएका कारण आगो नियन्त्रण हुन नसकेको अध्यक्ष वलीले बताए । आगलागीबाट २३ घर र एक सय १० जना प्रभावित भएका छन् ।
आगलागीस्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीहरू परिचालन भए पनि पर्याप्त पानीको स्रोत नहुँदा र भौगोलिक कठिनाइका कारण आगो नियन्त्रणमा ल्याउन कठिनाइ भएको उनले बताए । गाउँको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । रूखहरु जलेर धुवाँ उडिरहेको छ । -रासस