आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

प्राकृतिक विपत्ति

२५ परिवारका लागि सुरक्षित आवास निर्माण गरिँदै


  • 514
    SHARES
  • https://indrenipost.com/posts/7915
    बैशाख १९, २०८१ बुधबार
    २५ परिवारका लागि सुरक्षित आवास निर्माण गरिँदै

    भजनी । बाढी र डुबानको जोखिममा रहेको कैलालीको भजनी नगरपालिका–३ को पकरियापुरमा सुरक्षित आवास निर्माण सुरु भएको छ ।

    भजनी नगरपालिका, राष्ट्रिय दलित नेटवर्क (सुरक्षित आवास परियोजना) र स्थानीयको श्रमदानमा सुरक्षित आवास निर्माण हुन लागेको हो ।

    वर्षौंदेखि बाढी र डुबानको पीडामा रहेका पकरियापुरका २५ परिवारलाई सुरक्षित राख्नका लागि घर निर्माण थालिएको नगरपालिकाका प्रमुख केवल चौधरीले बताए ।

    उनले नगरपालिकाका अधिकांश क्षेत्र बर्सेनि बाढी र डुबानको चपेटामा पर्दै आएको बताउँदै बढी जोखिम भएको बस्तीलाई सुरक्षित बनाउन उच्च घर निर्माण कार्यक्रमलाई निरन्तरता दिइएको जानकारी दिए ।

    नगरपालिकाले गत वर्ष वडा नं ५ मा १६ वटा सुरक्षित उच्च आवास निर्माण गरेको थियो । बर्सेनि अन्य संघसंस्थाको साझेदारीमा नगरपालिकाले आवास निर्माणलाई निरन्तरता दिएको नगरप्रमुख चौधरीले बताए ।

    स्थानीय छेदु डगौराले उच्च घर निर्माण भएपछि बर्सेनिको बाढी र डुबानबाट छुटकारा पाइने विश्वास व्यक्त गरेका छन् । “वर्षौंदेखिको हाम्रो पीडा सरकारले सुनेको छ ।

    हामीले सरकारसँग माग्दै आएको माग अब पूरा हुँदै छ । महिनौँसम्म बाढीका कारण सडकमा बस्नुपर्ने हाम्रो बाध्यता अब सधैँका लागि अन्त्य हुनेमा विश्वस्त छौँ,” उनले भने ।

    स्थानीय शिवजी डगौरा पनि उच्च घर निर्माण हुन थालेपछि यतिबेला उत्साहित छन् । घरको सबै जायजेथा बोकेर महिनौँ सडकमा त्रिपालमुनि बस्नुको पीडाबाट छुटकारा पाउने आशामा शिवजी उत्साहित बनेका हुन् ।

    पकरियापुरमा एउटा नमूना घरसहित २५ घर निर्माण भइरहेका छन् । ७० लाख ४९ हजार ९२२ लागतमा निर्माण हुन लागेको ती घरका लागि नगरपालिकाको रु २४ लाख लगानी छ ।

    त्यसमा राष्ट्रिय दलित नेटवर्कले रु २१ लाख २९ हजार छ सय लगानी गर्दा रु २५ लाख ३० हजार तीन सय २२ बराबरको स्थानीयको जनश्रमदानलाई जोडिएको छ ।

    एउटा घरमा दुई कोठा र एउटा शौचालय निर्माण भइरहेको छ । राष्ट्रिय दलित नेटवर्कका लालबहादुर डगौरा थारूले संस्थामार्फत सञ्चालित सुरक्षित आवास परियोजनाले सरकारसँग सहकार्य गर्दै विपन्न वर्गका आवास निर्माणका काम गर्दै आएको बताए ।

    “प्रदेश तथा स्थानीय सरकारसँगको साझेदारीमा विभिन्न स्थानीय तहमा आवश्यकतानुसारको आवास निर्माणको काम गर्दै आएका छौँ”, उनले भने, “खासगरी सामाजिक तथा आर्थिक रूपमा कमजोर नागरिकलाई सुरक्षित आवास निर्माण गर्ने काम हुँदै आएको छ ।”

    परियोजनाले यसअघि कैलारी गाउँपालिकाको विपतपुरमा २७, लम्कीचुहा नगरपालिकामा २०, घोडाघोडी नगरपालिकामा १२ घर निर्माण गरेर स्थानीयलाई हस्तान्तरण गरिसकेको थारूले बताए । -रासस

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij