आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

विपत्ति

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत


  • 469
    SHARES
  • https://indrenipost.com/posts/7952
    बैशाख २०, २०८१ बिहीबार
    सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत

    सल्लेरी (सोलुखुम्बु) । हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो गाउँमा सल्किँदा १० घर जलेर नष्ट भएका छन् ।

    आगोले एक दर्जन बढी गाई, भैँसीको गोठ जल्नुका साथै पशुचौपायासमेत हताहत भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

    जिल्लाको थुलुङ दूधकोशी गाउँपालिका–३ पञ्चनमा बुधबार भएको आगलागीबाट स्थानीय बुद्धिमाया चर्मकार, पूर्णबहादुर अधिकारी, कालीबहादुर अधिकारी, हस्तिमाया राई र पारसमणि राईको घर र गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक रामचन्द्र साहले जानकारी दिए ।

    यस्तै बडीसुवा राई, उत्तरकुमार राई, दिलबहादुर राई, निशान राई र टीकाध्वज राईको घर पनि आगोले जलेको प्रहरी निरीक्षक साहले बताए । उनका अनुसार घटनामा दर्जनौँ गोठ तथा घरपालुवा पशुचौपाया जलेर हताहत भएका छन् ।

    थुलुङ दूधकोशी गाउँपालिका–३ पञ्चनस्थित राष्ट्रिय वन क्षेत्रमा लागेको डढेलो हावाको बेगका कारण घरमा सल्किँदा बस्ती नै खरानी भएको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले बताए ।

    उनले भने, “वनमा फैलिएको डढेलो निभाउन प्रहरीसहित स्थानीय जनशक्ति सक्रिय थिए, एक्कासी आगो गाउँमा सल्कियो र गाउँ नै सखाप बनायो, त्यो आगो हावाले उडाएर ल्याएको झिल्कोबाट सल्किएको हुनुपर्छ, त्यहाँका अधिकांश घरमा खरको छानो भएकाले नियन्त्रणमा लिन समय लाग्यो ।”

    गाउँमा सल्किएको आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी, गाउँपालिकालगायतको सक्रियतामा नियन्त्रणमा लिन सफल भएको छ भने जङ्गलको डढेलो नियन्त्रण बाहिर रहेको छ ।

    घटनाको क्षतिको विवरण सङ्कलन भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । आगोले सबै धनसम्पत्ति जलेर खरानी भएपछि पीडितहरू अर्धचेत अवस्थामा पुगेको जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्णप्रसाद निरौलाले बताए ।

    “आगोले सबै नष्ट गरायो, भएभरका सबै गुमाएपछि अहिले यहाँका स्थानीयमा चेत छैन, पूरै गाउँ नै रुवाबासीमा परिणत भएको छ, बस्ती नै खरानी भयो, जङ्गलमा लागेको आगो नियन्त्रणमा आउन सकेको छैन, धुवाँ र धुलोले अझै आँखा हेर्न सक्ने अवस्था छैन”, समन्वय प्रमुख निरौलाले भने । -रासस 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij