काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिरहाका प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित सुरक्षा प्रमुखसँग रिङ्कुकुमारी सदाको शंकास्पद मृत्यु तथा घटनाको अनुसधान प्रक्रियामाबारे जानकारी दिएका छन् । जनतासँग माओवादी, तराई मधेस जागरण अभियानको क्रममा सिरहा आएको बेला अध्यक्ष प्रचण्डले प्रजिअसहित सुरक्षा प्रमुखलाई बोलाएर घटनाबारे जानकारी लिएका हुन् ।
अध्यक्ष प्रचण्डले शोकमा रहेको परिवार र आन्दोलनमा रहेको संघर्ष समितिसँग आजै भेट गरेको उल्लेख गर्दै परिवारले हत्या नै भएको आशंकाले गरेका संवेदनशील भएर सत्यतथ्य अनुसन्धान गर्न आग्रह गरे । बलात्कारपछि पन्चायतले मिलापत्र गराउन खोजेकाले बलात्कार भएको देखिए पनि हत्या वा आत्महत्या के हो यथार्थ छानबिन हुनुपर्ने र दर्ता भएका सबै जाहेरीमा अनुसन्धान हुनुपर्ने उनले बताए ।
अध्यक्ष प्रचण्डले सिरहामै दाइजोसँग जोडिएको घटनामा अर्को एक महिलाको पनि मृत्यु भएको र यसको अनुसन्धानमा ध्यान नपुगेको परिवारबाट गुनासो आएकाले सो घटनाको पनि यथार्थ अनुसन्धान गर्न आग्रह गरेका थिए । जवाफमा प्रजिअ र सुरक्षा प्रमुखहरुले प्राप्त जाहेरीका आधारमा अनुसन्धान भइरहेको र अनुसन्धान प्रक्रियामा दबाब नरहेको जानकारी गराएका थिए ।