काठमाडौँ, १ भदौ — मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ सरिएकाले नेपालमा मनसुन केही कमजोर बनेको छ । यद्यपि बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिरहेकाले आज पनि वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । मधेससहित कोशी र बागमती प्रदेशका तराई तथा पहाडी भूभाग र अन्य प्रदेशका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा हुने देखिएको छ । कोशी र बागमती प्रदेशका पहाडी भागका एकदुई स्थानमा भने भारी वर्षा हुने सम्भावना छ ।
आज राति कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका साथै अन्य प्रदेशका पहाडी भागमा साधारणतया बदली रहने पूर्वानुमान गरिएको छ । बाँकी भागमा आंशिक बदली रहनेछ । मधेसलगायत कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशको तराई तथा पहाडी भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका तराई र पहाडी भागका एकदुई स्थानमा भने भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।
यस क्रममा सम्भावित पहिरो, बाढी र नदी किनारमा जोखिम बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।