आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

आत्मनिर्भर बनाउन जीवनोपयोगी सीप सिकाइँदै 


  • 406
    SHARES
  • https://indrenipost.com/posts/8264
    फागुन २५, २०८१ आइतबार
    आत्मनिर्भर बनाउन जीवनोपयोगी सीप सिकाइँदै 

     काठमाडौं ।  भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले महिलालाई उद्यमशीलसँगै आत्मनिर्भर बनाउन सीपमूलक कार्यक्रममा जोड दिएको छ । गृहिणी भएर घरायसी काममा मात्र समय बिताउँदै आएका महिलालाई सीप प्रदान गरेर उद्यममा जोडिन उत्प्रेरित गरेको हो ।

    गाउँपालिकाले अचार बनाउने, ढाकाको कपडा बुनाई, सिलाइकटाइ, बेमौसमी तरकारीखेतीलगायत सीपमूलक कार्यक्रम सञ्चालन गर्दैआएको छ । महिलालाई आत्माभिर्नरसँगै व्यावसायिक बनाउन ‘महिला लक्षित कार्यक्रम’ अन्तर्गत विभिन्न सीपमूलक तालिम प्रदान गरिरहेको गाउँपालिकाकी उपाध्यक्ष रमादेवी राईले बताइन् । आफ्नो पहलमा महिलालाई आवश्यकताका आधारमा, ढाका बुनाई, सिलाइकटाइ, अचार बनाउने, बेमौसमी तरकारीखेती गर्नेलगायत सीप प्रदान गरिएको उनको भनाइ छ ।

    उनले सीप सिकेर व्यवसायमा लाग्न चाहने महिलालाई गाउँपालिकाले आवश्यक प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिरहेको बताइन् । गाउँघरमा पाउने कच्चा पदार्थको सदुपयोग गर्दै व्यावसायिकतासँगै उद्यमशील बनाउन २७  महिलालाई अचार बनाउने सीप प्रदान गरिएको छ । बाहिरबाट विशेषज्ञ प्रशिक्षक ल्याएर गाउँपालिकाका नौवटै वडाका महिलालाई अचार बनाउने तालिम समेत दिइएको छ । आफ्नै ठाउँमा दक्ष प्रशिक्षकबाट सीप सिक्न पाउँदा खुसी लागेको टेम्केमैयुङ– ४ नागीकी सम्झना राईले बताइन् । सात दिनसम्म सहभागी भएर लिएको सीपले व्यावसायिक रूपमा अचार बनाएर आत्मनिर्भर बन्न सहयोग पुगेको उनको भनाइ छ । सीप लिएसँगै भावी दिनमा समूह निर्माण गरेर व्यावसायिक अचार उद्योग सञ्चालन गर्ने सोच बनाएको राईले बताइन् ।

    सातदिने अचार बनाउने तालिम लिएपछि व्यावसायिक बन्न साहस बढेको स्थानीयवासी क्षमादेवी राईले बताइन् । उनले तालिम लिएपछि गाउँघरमा सहजै पाउने कच्चा पदार्थबाट कसरी आयआर्जन गर्न सकिन्छ भन्ने ज्ञान पाएको बताइन् । सीप लिन इच्छुक महिलालाई गाउँघरमा पाउने कच्चा पदार्थ अमला, अकबरे खुर्सानी, तामा, लप्सीलगायत ११ प्रकारका अचार बनाउने सीप प्रदान गरिएको प्रशिक्षक सकुन्तला प्याकुरेलले बताइन् । तालिमका सहभागी महिलाले गाउँघरमा नै पाउने कच्चा पदार्थबाट व्यावसायिक रूपमा अचार उद्योग सञ्चालन गरेर आत्मनिर्भर बन्न सक्ने उनको भनाइ छ ।

    अचार भण्डारण तथा प्याकेजिङ, ब्रान्डिङ गर्न सकेको खण्डमा देश तथा विदेशसम्म निर्यात गर्न सकिने प्याकुरेको भनाइ छ ।  

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij