सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

इसेवा र नेपाल एसबिआई बैंक बीच सहकार्य

  • 271
    SHARES
  • https://indrenipost.com/posts/8745
    बैशाख २, २०८२ मंगलबार
    इसेवा र नेपाल एसबिआई बैंक बीच सहकार्य

    काठमाडौं । नेपालको पहिलो तथा अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा र नेपाल एसबिआई बैंक बीच विद्युतीय कारोबार सम्बन्धि साझेदारी भएको छ। यस साझेदारी पश्चात अब इसेवा प्रयोगकर्ता तथा नेपाल एसबिआइ बैंकका ग्राहकहरुले सहजै विद्युतीय माध्यमबाट रकम ट्रान्सफर गर्न सक्नेछन्।

    दुवै संस्थाका ग्राहकहरूलाई थप सेवा र पहुँच प्रदान गर्ने उद्देश्यका साथ गएको हप्ता एउटा औपचारिक कार्यक्रमका बिच दुवै संस्थाका प्रतिनिधिहरुले सम्झौता पत्रमा हस्ताक्षर गरी यस सेवाको प्रारम्भ गरेका हुन्। यस साझेदारी पश्चात अब नेपाल एसबिआइ बैंकको ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ्ग एप प्रयोग गरी सिधै इसेवा वालेटमा रकम लोड गर्न सक्नेछन् भने इसेवा प्रयोगकर्ताहरूले आफ्नो इसेवा वालेटमा भएको रकम नेपाल एसबिआई बैंकको खातामा ट्रान्सफर गर्न सक्नेछन्।

    यसै साथ अब इसेवामा आवद्ध बैंक तथा वित्तीय संस्थाको संख्या ५१ पुगेको छ। नेपाल एसबिआइ बैंक पनि इसेवामा आवद्ध भए पश्चात नेपालको डिजिटल वित्तीय सेवामा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।

    इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले इसेवा र नेपाल एसबिआई बैंक बीच भएको यस सम्झौताप्रति खुशी व्यक्त गर्दै, यस सहकार्यले दुवै संस्था बिच हुने रकम ट्रान्सफरको अनुभवलाई सहजता र सरलता प्रदान गर्ने विषयमा जोड दिएका छन्। साथै यस सम्झौताले ग्राहकहरूको अमूल्य समय बचाउने र डिजिटल कारोबारलाई थप सुरक्षित र प्रभावकारी बनाउने कुरा समेत उनले उल्लेख गरेका छन्। खड्काले आउने दिनहरुमा ग्राहकहरूको हित तथा सहजताका लागि आवश्यकता अनुसार थप सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता समेत जनाएका छन्।

    नेपालको पहिलो डिजिटल भुक्तानी सेवा प्रदायकको रूपमा सन् २००९ मा इसेवा लि स्थापना भएको हो। हाल नेपालको ७७ वटै जिल्लामा पहुँच भएको इसेवा लि शहरी केन्द्रमा मात्र सीमित नभएर हाल उपत्यका बाहिर पनि ८ वटा शाखा कार्यालयहरू र ३ वटा सम्पर्क कार्यालयहरू स्थापना गरेर सेवा प्रदान गर्दै आइरहेको छ। मोबाइल टपअप बाट सेवा सुरु गरेको इसेवाले हाल इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क, होटल बुकीङ, शेयर तथा डिम्याट खाता नविकरण, ब्लूबुक नविकरण, इन्स्योरेन्स लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी, इजी लोन, इस्पिकर, मर्चेन्ट लिङक सुविधा दिदै आएको छ।

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij