काठमाडौँ, १८ साउन – प्रधानमन्त्री केपी शर्मा ओली आज तुर्कमेनिस्तानको अवाजा सहरतर्फ प्रस्थान गर्दै छन । उनी संयुक्त राष्ट्रसंघीय आयोजनामा हुन गइरहेको भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी हुन लागेका छन ।
साउन २० देखि २३ गते अगस्ट ८ देखि १०, सम्म चल्ने सो सम्मेलनमा तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली सहभागी हुन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सम्मेलनमा कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरोका अध्यक्षका हैसियतले प्रधानमन्त्री ओलीले महत्वपूर्ण सम्बोधन गर्नुहुने कार्यक्रम तय भएको छ । साथै, उनले सम्मेलनको एक उच्चस्तरीय गोलमेच बैठकको सह–अध्यक्षता गर्नुका साथै अन्य विविध कार्यक्रममा पनि सहभागिता जनाउनेछन ।
प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणको क्रममा विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुखहरूसँग द्विपक्षीय भेटवार्ता गर्नुका साथै संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तर्राष्ट्रिय संस्थाका वरिष्ठ पदाधिकारीहरूसँग पनि छलफल समेत गर्ने कार्यतालिका रेहेको छ ।
उनको भ्रमण टोलीमा श्रीमती राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, सङ्घीय संसद्का सदस्य सूर्यबहादुर थापा क्षेत्री तथा अन्य उच्चपदस्थ सरकारी अधिकारीहरूको सहभागिता रहनेछ । प्रधानमन्त्री ओली साउन २३ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।