पर्वत, १८ साउनः लगातारको वर्षाले कालीगण्डकी नदीको बहाब यस वर्षकै उच्च विन्दुमा पुगेको छ । आज बिहान नदीको सतह ६ मिटर ४० सेन्टिमिटर पुगेर यो वर्षकै उच्चतम मापन गरिएको गेजरिडर कृष्णप्रसाद सुवेदीले जानकारी दिएका छन ।
मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतमा परेको भारी वर्षाले नदी सतह बढेको हो । बहाब तीव्र भएपछि पर्वत, स्याङ्जा र गुल्मीको सीमामा अवस्थित विश्वकै ठूलो शालिग्राम शिला डुबानमा परेको छ । तटबन्ध र पूर्वाधार क्षति भएपछि शिला दर्शन असम्भव भएको तिलक पराजुलीले बताए ।
कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाका ढोका खुला गरिए पनि सेतीवेणीबजारलगायत तटीय क्षेत्र उच्च जोखिममा छन् । व्यापारी तथा बासिन्दा त्रासमा रहेका छन् । विगतको डुबानले विस्थापित भएका स्थानीय फेरि त्रासमा बाँच्न बाध्य छन् ।