काठमाडौं । कर्णाली विकास बैंक घोटाला प्रकरणमा पक्राउ पर्नेमा तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी पक्राउ परेका छन । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पक्राउ गरेको छ।
सीआईबीका प्रवक्ता तथा एसपी युवराज खड्काले ठकुरीलाई पक्राउ गरेको जानकारी दिए । बैंकको रकम हिनामिना प्रकरणमा अनुसन्धान भइरहेको छ’ प्रवक्ता खड्काले भने । उनका अनुसार केही दिनअघि मात्रै उनलाई नेपालगञ्जबाट पक्राउ गरिएको थियो । अहिले उनीमाथि अनुसन्धान भइरहेको छ । यसअघि यो बैंक घोटाला प्रकरणमा संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परेका थिए ।
भारतको लखनउमा अपार्टमेन्ट भाडा लिएर बसेका उनलाई सीआईबीकै टोलीले पक्राउ गरेर नेपाल ल्याएको थियो । अहिलेसम्म यो बैंक घोटाला प्रकरणमा मुछिएका दुई जना पक्राउ परेका छन् । अन्यको दुई जनाको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुलाई बाँके नै राखेर सीआईबीको टोलीले अनुसन्धान गरिरहेको छ । सीआईबीबाट डीएसपी दान बहादुर थापाको कमाण्डको एउटा टोली नेपालगञ्ज गएर अनुन्सन्धान गरिरहेको सीआईबीले बताएको छ ।
पक्राउ परेकाहरुविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐन २०६४ अन्तर्गतको कसुरमा नेपाल राष्ट्र बैंकको समन्वयमा अनुसन्धान भइरहेको सीआईबीले बताएको छ ।
यो बैंकमा अहिलेसम्म २ अर्ब ५० करोड रुपैयाँ हिनामिना भएको भन्दै उजुरी परेका छन। कर्णाली विकास बैंक २०६० सालमा स्थापना भएको थियो । अपचलनमा संलग्न मुख्य व्यक्ति रायको कर्णाली विकास बैंकमा करिब ८० प्रतिशत संस्थापक सेयर छ । उनी बैंक स्थापनादेखि नै कार्यकारी अध्यक्ष तथा सीईओका रूपमा करिब १५ वर्षसम्म कार्यरत थिए । प्रमुख सेयर होल्डरका रूपमा रायले नै बैंक चलाउँदै आएका थिए ।
बैंक सञ्चालक समिति अध्यक्ष डा ओमप्रकाश मिश्रको संयोजकत्वमा गठित विशेष छानबिन समितिले ठूलो रकम घोटाला भएको निष्कर्ष निकालेको थियो ।
कर्णाली विकास बैंकको अन्य बैंक खातामा रहेको रकम तथा बैंकको कोर बैंकिङ प्रणाली सीबीएसमा प्रविष्ट रहेको रकमबीच अन्तर निकाल्दा ठूलो रकम घोटाल भएको मिश्र समितिको प्रतिवेदनले उल्लेख गरेको छ । विभिन्न बैंकको खातामा रहेको मौज्दातको नक्कली ब्यालेन्स सर्टिफिकेट बनाई केही वर्षदेखि अपचलन लुकाएको समितिले उल्लेख गरेको छ ।
रायका साथै पूर्व सीईओ दिनेशकुमार रावत, पूर्ववित्त विभाग प्रमुख तथा हाल पक्राउ परेका महादेव भनिने वेदप्रकाश सिंह ठकुरी र वरिष्ठ वित्त विभाग प्रमुख तथा सीईओ निरजविक्रम शाहले समेत अपचलन गरेको हुनसक्ने आशंका मिश्र नेतृत्वको समितिले उल्लेख गरेको थियो ।
रायलाई मानबहादुर चौधरी र पवनसिंह थारुले सहयोग गरेको हुनसक्ने बताइएको छ । छानबिन समितिका संयोजक मिश्रले सीईओ निरजविक्रम शाहलाई सोधपुछ गर्दा ठूलो रकम रायले घोटाला गरेको बताइएको उल्लेख छ ।
खातामा ब्यालेन्स नभएकै अवस्थामा पनि चेक क्लियरिङमार्फत रकमान्तर–चेक भुक्तानी गरेर घोटाला गरेको पाइएको छ । यसका साथै सोझै भल्टरटेलरबाट नगदै पैसा झिकेर पनि अपचलन गरेको पाइएको छ ।
राष्ट्र बैंकमा रहेको कर्णाली विकास बैंकको खाता सीआरआरमा ७ पुस २०८१ सम्म २२ करोड ७४ लाख ६१ हजार २ सय ८२ रुपैयाँ मौज्दात रहेको सीबीएसमा प्रविष्ट गरिएको थियो । तर छानबिन समितिको अनुसन्धान क्रममा उक्त खातामा करिब शून्य मौज्दात रहेको भेटिएको थियो ।
राय सहितका व्यक्तिले अन्य बैंकमा रहेको नक्कली ‘ब्यालेन्स सर्टिफिकेट’ बनाएर रकम अपचलन ढाकछोप गरेको पनि छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।
बैंक विवरणको कागजपत्रमा फोटोसप गरेर आफूले चाहे बमोजिमको विवरण थप गरी कीर्ते विवरण बनाई त्यसको फोटोकपी गरेर राष्ट्र बैंकको अनुगमन टोलीलाई पेस गर्ने गरेको पनि छानबिन प्रतिवेदनमा उल्लेख गरिएको छ ।