मुस्ताङ, ३ साउन । उपल्लो मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट पीडित पशुपालक किसानलाई राहत वितरण गरिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गतको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप, इलाका संरक्षण कार्यालय लोमान्थाङले क्षतिपूर्तिको रुपमा राहत उपलब्ध गराएको हो ।
एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलका अनुसार आर्थिक वर्ष २०८१।८२ मा हिउँ चितुवाको आक्रमणबाट क्षति भएका १२५ वटा पशुधनको लागि रु ११ लाख ३५ हजार राहतस्वरूप भुक्तानी गरिएको छ । कुल क्षतिको ४३ प्रतिशत राहत वितरण भइसकेको छ भने बाँकी ५७ प्रतिशत अर्थात् रु २६ लाख ९४ हजार राहत रकम वितरण प्रक्रियामा रहेको छ ।
गत आर्थिक वर्ष २०८०।८१ मा २२ पशुधन क्षति भएकोमा रु ४ लाख १८ हजार राहत दिइएको थियो । हालको वर्षमा क्षति भएका १०३ पशुधनको लागि रु २२ लाख ७६ हजार वितरण गर्न बाँकी रहेको एक्यापले जनाएको छ ।
कार्यालय प्रमुख पौडेलले पटक–पटकको ताकेता अनुसार समुदायलाई राहत हस्तान्तरण गरिएको बताउँदै बाँकी राहतको भुक्तानी पनि चाँडै हुने जानकारी दिए। साथै, वन्यजन्तुबाट हुने क्षतिको तत्काल राहतका लागि एक्यापले “मानव–वन्यजन्तु द्वन्द्व कोष” स्थापना गर्ने तयारी गरेको पनि उनले बताएका छन ।
वन्यजन्तु क्षति निर्देशिका, २०८० अनुसार, भेडाच्याङ्ग्रा क्षति हुँदा प्रतिपशु बढीमा रु १० हजार र घोडा क्षतिमा रु ६० हजारसम्म राहत दिने व्यवस्था छ । सोही अनुसार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागमार्फत एक्यापले राहत वितरण गर्दै आएको हो ।
मुस्ताङमा मानव–वन्यजन्तु द्वन्द्व बढ्दै गएको छ । उपल्लो क्षेत्र हिउँ चितुवाको आक्रमणबाट प्रभावित छ भने तल्लो मुस्ताङमा कालो भालु जस्ता जनावरले किसानलाई क्षति पुर्याएका छन् । उच्च लेकमा वन्यजन्तुको आहारको अभावले गर्दा उनीहरू बस्ती नजिक आउने क्रम बढेसँगै द्वन्द्व झनै चर्किएको देखिन्छ ।
एक्यापले वन्यजन्तु पीडित किसानलाई आवश्यक प्रक्रिया पूरा गरी राहत उपलब्ध गराउने कार्य निरन्तर रूपमा गर्दै आएको छ ।