त्रिशूली, नुवाकोट, ३ साउन । विदुर नगरपालिकाले वातावरणमैत्री यात्रा, शारीरिक स्वास्थ्य अभिवृद्धि, धार्मिक –सांस्कृतिक सम्पदाको संरक्षण तथा परोपकारी उद्देश्यलाई जोड दिंदै ‘कोरा साइकलिङ च्यालेञ्ज’ सफलतापूर्वक सम्पन्न गरेको छ। आज सम्पन्न भएको यस विशेष साइकल यात्रामा १५० भन्दा बढी साइकल यात्रीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
नगरपालिकाको आयोजनामा भएको १३ किलोमिटर लामो यात्राले जिल्लाका विभिन्न धार्मिक, सांस्कृतिक, पुरातात्विक र प्राकृतिक सम्पदाको प्रचारप्रसारमा टेवा पुर्याएको नगर कार्यालयले जनाएको छ ।
विदुर नगर प्रमुख राजन श्रेष्ठका अनुसार, नुवाकोट, रसुवा, धादिङ र काठमाडौँलगायतका विभिन्न जिल्लाबाट सहभागी व्यावसायिक साइकलिस्टहरूको उपस्थिति यात्रालाई थप अर्थपूर्ण बनाएको थियो। यस किसिमको यात्राबाट धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणसँगै पर्यटन प्रवर्द्धनमा सकारात्मक सन्देश प्रवाह भएको उनले बताए ।
नगर प्रमुख श्रेष्ठले कार्यक्रमलाई सामाजिक परिवर्तनको अभियानका रूपमा निरन्तरता दिने प्रतिबद्धता जनाउँदै भने, “धार्मिक तथा ऐतिहासिक सम्पदामा वातावरणमैत्री यात्रा गर्दै परोपकारी कार्यका लागि आर्थिक सहयोग सङ्कलन गर्नु र सहभागीलाई स्वस्थ्य राख्नु यस कार्यक्रमको मूल उद्देश्य हो ।”
साइकल च्यालेञ्ज मार्फत संकलित सहयोग रकम सिन्धुपाल्चोकको दुर्गम दनुवार बस्तीमा सौर्य बत्ती वितरण गर्न खर्चिने योजना रहेको जानकारी दिँदै श्रेष्ठले विद्युत सेवा टुकीमा निर्भर गरिरहेका परिवारहरूलाई सौर्य ऊर्जा पहुँचमा ल्याउने उद्देश्य रहेको बताए ।
नगर प्रमुख श्रेष्ठले सामाजिक उत्तरदायित्वप्रति सबैलाई जागरूक बनाउन आ–आफ्नो स्थानबाट सक्दो योगदान गर्न आग्रह गरे।
कार्यक्रममा नगर प्रमुख श्रेष्ठसहित उपप्रमुख प्रभा बोगटी, नेपाली सेनाको ६ नं बाहिनी अड्डाका बाहिनीपति सुवासजङ्ग थापा, शेर गण नुवाकोटका गणपति अशोककुमार मल्ल, सैन्य तालिम केन्द्र त्रिशूलीका केन्द्र प्रमुख देवराज भट्ट, वडा नं १ का वडाध्यक्ष लेनिन रञ्जित लगायत विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो ।
साइकल यात्रा विदुर नगरपालिकाको प्रमुख प्रशासकीय कार्यालयबाट सुरु भई विदुरचोक–वनदेवी मन्दिर–इन्द्रचोक–स्वयम्भू–महाचैत्य, नुवाकोट साततले दरबार–भैरवीदेवी मन्दिर–धरमपानी–बाराही मन्दिर–बट्टार पुरानोपाटी हुँदै पुनः नगर कार्यालयमै पुगेर सम्पन्न भएको हो। यात्राले चार घण्टा समय लिएको नगर कार्यालयले जनाएको छ।